स्वरोजगार बन्न आवेदन दिने कोरोना पीडितहरु भारततिर



राम धामी, डडेल्धुरा ।

कोरोना महामारीका कारण रोजगारी गुमाएका नागरिकहरुहरुलाई स्वरोजगार बनाउन सुदूरपश्चिम प्रदेश सरकारले घोषणा गरेको स्वरोजगारमुलक कार्यक्रम कार्यान्वयनमा ढिलाई कार्यक्रममा सहभागी हुन आवेदन दिएका यँहाका युवाहरु धमाधम भारत फर्किन थालेका छन् ।

चैत्र ११ यता मात्रै सुदूरपश्चिमका विभिन्न नाका हुँदै हालसम्म दुई लाख २९ हजार एक सय ७० नागरिक स्वदेश भित्रिएका छन् भने यही अवधिमा एक लाख ३७ हजार ७ सय १४ जना नागरिक भारत प्रवेश गरेका छन् । प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्याङ्कअनुसार त्रिनगर नाका हुँदै सबैभन्दा बढी एक लाख १० हजार तीन सय ८० जना, गड्डाचौकी नाका हुँदै २६ हजार चार सय ५२, दार्चुलाको पुलघाट हुँदै आठ सय ३८ र बैतडीको झुलाघाट हुँदै ४४ जना भारत पसेका छन् ।

लकडाउन खुकुलो भए पश्चात् सुदूरपश्चिमका दुई नाका (त्रिनगर र गड्डाचौकी) हुँदै गत साउनयता मात्रै एक लाख १६ हजार पाँच सय ७१ जना भारत गएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिँहले जानकारी दिए । प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको तथ्याङ्कअनुसार २३ हजार पाँच सय ८८ महिला, ७९ हजार नौ सय ३७ पुरुष र १३ हजार ४६ बालबालिका गरी एक लाख १६ हजार पाँच सय ७१ जना भारत गएका छन ।

यही अवधिमा ८२ हजार दुई सय ७८ जना भारतबाट नेपाल फर्किएको प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्यांकमा उल्लेख छ ।कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरूलाई लक्षितगर्दै सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न रोजगारीमूलक कार्यक्रम घोषणा गरे पनि कार्यान्वयनमा ढिलाई हुँदा स्वरोजगारीका लागि आवेदन दिएका अधिकांस सर्वसधारण पुनः भारत फर्किन थालेका हुन ।

‘सस्तो लोकप्रियताका लागि घोषित कार्यक्रम कार्यान्वयनमा अहिले चुनौती भयो,’ भारत जाँदै गरेका परशुराम नगरपालिकाका इन्द्रसिँह भाटले भने, ‘स्वदेशमै रोजगारी पाइन्छ भन्ने आशा जागेको थियो, तर अन्ततः भारत नै जानुप-यो ।’स्वदेशमा रोजगारीका अवसरहरू नहुँदा नै आफूहरू बाध्य भएर भारत जानुपरेको डडेल्धुराको अमरगढी नगरपालिका–५ का प्रकाश जैरुले गुनासो गरे ।

कोरोना महामारीका कारण रोजगारी गुमाएका नागरिकहरुका लागि जनअपेक्षा अनुसारका कार्यक्रम ल्याएको दाबीगर्दै आएको सुदूरपश्चिम प्रदेश सरकारले ती कार्यक्रम हाल कार्यान्वयनको चरणमै रहेको दाबी गर्ने गरेको छ । ‘प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कोरोनाले रोजगारी गुमाएकाहरूका लागि १५ करोड बजेटको कार्यक्रम तयार गरेको छ ।

हामीले यसका लागि आवेदन खोल्दा ८० हजार आवेदन परे,’ मन्त्रालयका सूचना अधिकारी गोकुलप्रसाद बोहराले भने, ‘अहिले छनौट प्रक्रिया चलिरहेको छ ।’‘एकै जनाले फरक–फरक जिल्लाबाट पनि आवेदन दिएको फेला प¥यो,’ मन्त्रालयका प्रवक्ता डा। हेमराज अवस्थीले भने, ‘हामीले असोज महिनामा २१ दिने आवेदन खोल्दा झन्डै ७० हजार पशुपालनतर्फ र करीब १० हजार खेतीपातीका लागी आवेदन परे । तर त्यसमा हामीले एकै जनाले फरक–फरक जिल्लाबाट पनि आवेदन दिएको पायौं ।’ त्यसपछि मापदण्ड बनाएर छनोटको काम भइरहेको प्रदेश सरकारले जनाएको छ ।

त्यति मात्रै हैन, सुदूरपश्चिम प्रदेश सरकारले स्वरोजगार कोष नै खडा गरेर प्रदेशवासीलाई रोजगारी दिने दाबी गरिरहेको छ । तर पहिलो चौमासिक बित्दा पनि कार्यान्वयनमा भने आउन सकेको छैन । ‘सरकारले कोरोना प्रभावितलाई अवसर दिन्छौं भन्दा निकै आश लागेको थियो,’ परशुराम नगरपालिका–७ साँदनीका जनकराज जोशीले भने, ‘मन्त्रालयले आवेदन खोल्दा मैले पनि फारम भरें, तर पछि आवेदन बढी भएको भन्दै फेरि प्रस्तावना माग गरियो, मैले पशुपालन गर्ने आफ्नो योजनासहित फेरि प्रस्तावना पेश गरें, तर अहिलेसम्म अवसर पाइएन, त्यसैले बाध्य भएर भारत जाँदैछु ।’

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारी पीडित नागरिकका लागि ल्याएको स्वरोजगार कार्यक्रममा आवेदन फाराम भरेका अधिकांस युवाहरु कार्यक्रम कार्यान्वयनमा ढिलाई हुँदा भारत फर्किएको परशुराम नगरपालिका–७ का वडाध्यक्ष केशबबहादुर बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्