नेकपा फुटोस् र सरकार ढलोस् भन्ने सोच निरर्थक हुन्छ : मन्त्री श्रेष्ठ



पुष्कर बुढाथोकी, भक्तपुर ।

शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले विरोधीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन होस् भनेर धुप हाले पनि नेकपा बिभाजन नहुने बताउनुभएको छ ।चाँगुनारायण नगरपालिकाको नगर अस्पतालको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले कसैले पार्टी फुटोस् र सरकार ढलोस् भने पनि त्यो सोच निरर्थक हुने बताउनुभयो ।\

नेपाली जनातले इतिहास निर्माण गर भनेर नेकपालाई दुई तिहाई नजिकको मत दिएकाले जनचाहाना अनुसार नै नेकपा एक हुने उहाँको भनाई छ । नेकपा समुन्द्र भएको बताउँदै समुुन्द्रमा सानोतिनो छाल आउनु सामान्य भएको उहाँले बताउनुभयो ।
सत्तारुढ पार्टीको एकता नै अहिलेको प्रमुख आवश्यक भएको भन्दै मन्त्री श्रेष्ठले यसको व्यवस्थापन गर्न पार्टी सक्षम रहेको बताउनुभयो ।

केपी शर्मा ओलीले आगामी चुनावपछि सरकार र आगामी महाधिवेशनपछि पार्टी अध्यक्ष छोड्छु भन्ने बचन दिएकाले अहिलेको पार्टी एकताको बटम लाईन नै त्यहीँ भएको मन्त्री श्रेष्ठको भनाई छ । मन्त्री श्रेष्ठले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पद अवको चुनावपछी र पार्टी अध्यक्ष पद आगामी महाधिवेसन पछि मात्रै छाड्ने पनि स्पष्ट रहेको बताउनुभयो । \

पार्टी एकता दुई अध्यक्षका सहमतिबाट मात्रै सम्भव भएको र सहमतिको आधारमा पार्टीलाई सञ्चालन गर्ने भनिएकाले अहिले पनि दुई अध्यक्षबीच सहमति हुन जरुरी रहेको बताउनुभयो । दुई अध्यक्ष मध्ये एकले समझदारी छाडेपछि समस्या उत्पन्न भएको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।

मन्त्री श्रेष्ठले जनताले केपी शर्मा ओलीलाई नै पाँच वर्ष प्रधानमन्त्री हुन जनादेश दिएकाले बीचैमा जनतालाई धोका दिएर सत्ता छोडेर जाने छुट प्रधानमन्त्री ओलीलाई नभएको बताउनुभयो । शहरी विकास मन्त्री श्रेष्ठले पार्टी भित्र देखिएको समस्याको समाधान अल्पमत र बहुमतबाट हुन नसक्ने बताउनु भयो ।

पार्टीको एकता नै ६० र ४० प्रतिशतको अनुपातमा भएकाले पनि बहुमत र अल्पमतमा जाँदा एकले अर्कोलाई समाप्त गर्ने स्थिति हुने भएकाले दुई अध्यक्षको सहमति बेगर कुनैपनि समस्याको समाधान हुन नसक्ने बताउनुभयो । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको १९ पृष्ठ लामो दस्तावेज आरोप पत्र भएकाले पार्टीभित्र छलफल नै गर्न नहुने बताउनुभयो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ३८ पृष्ठ लामो दस्तावेज माथि छलफल गरेर अगाडि बढेमात्रै पार्टीले निकास पाउने पनि मन्त्री श्रेष्ठले बताउनुभयो । सरकारले मंसिर १४ गते देशभरका स्थानीय तहमा एक अस्पताल उद्घाटन र शिलान्यास गररे स्वास्थ्य क्षेत्रमा क्रान्ति गरेको उहाँले बताउनुभयो ।

‘अब गर्भवती महिलाले घर नजिकैको अस्पतालमा प्रसुति सेवा सक्ने छन्, अन्य विरामीले पनि टाढासम्म उपचारको लागि जानुपर्ने अवस्था आउने छैन,’ मन्त्री श्रेष्ठले भन्ुभयो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले विगतमा स्वास्थ्य केन्द्र रहेकोमा त्यसलाई विस्तार गरी नगर अस्पताल निर्माण गरिएको बताउनुभयो ।

आवश्यक सबै पूर्वाधार निर्माणको काम सकिएकाले अब कर्मचारी व्यवस्थापनपछि नगर अस्पताल सञ्चालनमा आउने उनको भनाई छ । ‘हामीले विज्ञापन गरेका छौं, १७ जना अहिले कार्यरत हुनुहुन्छ, नयाँ कर्मचारी आएपछि करिब पुसको पहिलो साताबाट अस्पताल सुरु हुन्छ’ नगरप्रमुख मिश्रले भन्नुभयो ।

पहिलो चरणमा यो कोभिड विषेश अस्पताल हुने र कोरोना संक्रमण भएर घरमै बसेका चाँगुनारायणका बासिन्दालाई अस्पताल लानुपर्ने अवस्था आएमा यहिँ उपचार हुने नगरप्रमुख मिश्रले बताउनुभयोे । प्रसुति, नाक ,कान घाटी, आँखा, ओपिडीलगायतका सेवा दिने तयारी नगर अस्पतालको छ । हाल १५ सामान्य शैया र अन्य दुई गरी १७ शैया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्