ललिता निवास जग्गा प्रकरण : अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा



विकास भट्टराई, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ । सो अदालतका अध्यक्ष प्रेमराज कार्की तथा सदस्यद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको हो ।

वालुवाटारस्थित सरकारी जग्गालाई ब्यक्तिको नाममा बनाएर भ्रष्टाचार गरेको आरोप पूर्वप्रमुख आयुक्त बस्न्यात माथि लागेको थियो । सो आरोप लागेपछि आइतबार विशेष अदालत हाजिर हुन पुग्नु भएको बस्न्यातलाई शुरुमा बयान लिएको थियो । लामो समय बयान लिएर बस्न्यातलाई धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने वा थुनामा पठाउने भन्ने सम्बन्धमा बहस भएको थियो ।

अदालतले तत्काल प्राप्त प्रमाणबाट बस्न्यात दोषी हो भन्ने देखिएको उल्लेख गर्दै उहाँलाई कानुनले पाउने सिदा खान पाउने गरी कारागार पठाउन आदेश दिएको हो । बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहँदा ललिता निवासको जग्गा मोहिको नाममा बाँड्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको आरोप लागेको छ । त्यसरी प्रस्ताव लाने क्षेत्राधिकार सो मन्त्रालयलाई नभएको पनि आरोप अख्तियारले लगाएको छ ।

अख्तियारले यस अघि बस्न्यातसहितलाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो अदालतका प्रवक्ता पुष्प पाण्डेले बस्न्यातलाई थुनामा पठाउने आदेश भएको जानकारी दिनुभयो । बस्न्यात अख्तियारको प्रमुख आयुक्त भई अवकाश पाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्