नौ महिनापछि ढोरवाराही मन्दिर खुला



दमौली ।तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही मन्दिर नौ महिनापछि भक्तजनका लागि खुला भएको छ । शनिबार शुक्लागण्डकी नगरपालिकाले क्षमासहितको बहाली पूजा गरेपछि भक्तजनलाई खुला गरिएको ढोरवाराही क्षेत्र संरक्षण समितिका अध्यक्ष एवं शुक्लागण्डकी–९ का अध्यक्ष लोकनारायण श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाले मन्दिरमा बोका बलि दिएको छ । चैतबाट लकडाउन भएदेखि मन्दिर भक्तजनका लागि बन्द थियो । नगर कार्यपालिका बैठकले स्वास्थ्यको मापदण्ड अपनाएर मन्दिर खुलाउने निर्णय गरेसँगै भक्तजनलाई खुला गरिएको उहाँले बताउनुभयो । “मन्दिर बन्द भए पनि भक्तजन आइरहन्थ्ये, कतिले बीचमै बलि पनि दिएको देख्यौँ, तसर्थ खोल्ने निर्णय भयो”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।

वडा नं ९ बाजस्थलमा रहेको ढोरवाराही मन्दिरलाई भगवान विष्णुको तेस्रो अवतारका रुपमा लिइन्छ । मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्यादी निको हुने जनविश्वास छ । यसर्थ टाढा टाढाबाट भक्तजन आउँछन् ।

जङ्गलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर रहेको छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउँछ । मन्दिर परिसरको करिब १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुईजोर शिला छन् । पोखरीमा कम्तीमा पन्ध्र मिनेटको अन्तरालमा छुट्ने रहस्यमय लहरी ९पानी घटबढ० हुनुले ढोरवाराही मन्दिरप्रतिको आस्थालाई अझ बढाएको छ ।

पोखरीको मूलबाट पानीको ठूलो भल आउँछ । एकैछिनमा फेरि स्वतःघट्दै जान्छ । यसरी यहाँको पोखरीमा लहरी छुट्नुलाइ धार्मिक आस्थासँग जोडिएको छ । ढोरवाराही माता प्रसन्न हुँदा लहरी छुट्ने धार्मिक कथन छ । मन्दिरमा चल्ने लहरीलाई महत्वपूर्ण दैवीशक्तिका रुपमा लिइने गरिन्छ ।

मन्दिरमा बडादशँैको नवदु्र्गा, चैतेदशैँको नवदुर्गा, नयाँ वर्षको दिन, वैशाख महिनाभर, श्रीपञ्चमी र हिउँदयाममा भक्तजनको ओइरो लाग्ने गर्दछ । मनले चिताएको पूरा हुने जनविश्वासका साथ मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासीलगायत देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।

यस मन्दिरलाई हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर समेत मानिँदै आएको छ । हिमवत्खण्ड पुराणमासमेत चर्चा गरिएको ढोरवाराही मन्दिरमा देवीको चर्तुवाहु मूर्तिसमेत पाइन्छ । यस मन्दिरमा विसं १९०४ सालदेखि चढाइएका घण्टसमेत छन् । ढोरवाराही माता प्रशन्न हुँदा लहरी छुट्ने किंवदन्ती रहेको छ । उक्त पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन । हिउँदको समयमा ढोरवाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ ।

दुई किमीका फरकमा दुई पक्की पुल

व्यास नगरपालिका–८ रिस्तीमा दुई किमिको फरकमा दुई पक्की पुल निर्माण शुरु गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् वडा नं ८ मा दुई पक्की पुल निर्माण शुरु गरिएको हो ।

वडा नं ८ र लमजुङको मध्यनेपाल नगरपालिका–१ तथा वडा नं ८ र मध्यनेपाल नगरपालिका–२ जोड्ने रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु गरिएको छ । उक्त पुलको दूरी दुई किलोमिटर रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो ।

“दुवै ठाउँमा पुलको अति आवश्यकता रहेकाले भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् योजना परेर पुल निर्माणको काम शुरु गरिसकेका छौ”, ढुङ्गानाले भन्नुभयो । व्यास–८ र मध्यनेपाल–१ जोड्ने पुल निर्माणका लागि रु चार करोड ४७ लाख २९ हजार ५३६ मा सम्झौता भएको छ । विसं २०७६ पुस २३ गते सम्झौता भएको पुल विसं २०७८ असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।

पुल निर्माणको ठेक्का रोशन कन्स्ट्रक्सन लिमिटेडले पाएको छ । बाउन्न मिटर लामो पुल निर्माणका लागि सरकारले चालू आर्थिक वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको ढुङ्गानाले जानकारी दिनुभयो ।

यस्तै असोज तेस्रो सातादेखि व्यास–८ सोतीबेँशी र लमजुङको मध्यनेपाल–२ सोतीपसल जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ढुङ्गानाले डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी वाइएसएस हिम निर्माण सेवा जेभी काठमाडौँसँग सम्झौता भएको जानकारी दिनुभयो ।

रु चार करोड १६ लाख ४५ हजार ८४० को लागतमा निर्माण हुने पुलको लम्बाई ४० मिटर र चौडाइ ८।४ मिटर रहेको छ । सिङ्गल बिम पुल निर्माणका लागि रु पाँच करोड ३५ लाख २६ हजार दुई सयको इष्टमेट गरिएको थियो ।

पुल निर्माणका लागि विसं २०७७ असार ७ गते सम्झौता भएको थियो । विसं २०७८ पुस ७ गतेभित्र पुल निर्माण सम्पन्न हुनेछ । पक्की पुल नहुँदा दुई जिल्लाका स्थानीयवासीलाई आवतजावत सास्ती हुँदै आएको थियो । पक्की पुलको अभावमा घण्टौ हिँडेर आवतजावत गर्नुपर्ने बाध्यता पुल निर्माण भएसँगै हट्ने भएपछि स्थानीयवासी खुशी भएका छन् ।

बुडुवा खोलामा पुल निर्माण शुरु

भीमाद नगरपालिका–३ स्थित बुडुवा खोलामा पुल निर्माण शुरु गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् उक्त ठाउँमा पुल निर्माण गरिन लागेको हो । पुल निर्माणका लागि विसं २०७७ साउन २८ गते गणेशकुण्ड÷निर्माण सेवा नुवाकोटसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो ।
रु दुई करोड पाँच लाख ५७ हजार १४४ मा ठेक्का सम्झौता भएको उक्त पुल विसं २०७८ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । पुल १९।८ मिटर लामो हुनेछ ।

उक्त ठाउँमा पुल नहुँदा वर्षायाममा सर्वसाधारणलाई सास्ती हुँदै आएको स्थानीयवासी पदम ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार यसै क्षेत्रबाट निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको पहलमा यहाँ पुल निर्माण शुरु गरिएको हो ।

जबरर्जस्ती करणीको आरोपमा पक्राउ

शुक्लागण्डकी नगरपालिकास्थित १३ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ वर्षीय केशबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

यही मङ्सिर २२ गते केशबहादुरले बालिकालाई जबरर्जस्ती करणी गरेको शनिबार प्रहरीमा उजूरी परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “बालिकालाई जबरर्जस्ती करणी गरेको उजूरीका आधारमा प्रहरीले निजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ”, तिमिल्सिनाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्