महानगर दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा हुँदै

महानगरबासीका वीचमा मनाउनु पर्ने दिवस महामारीका कारण सीमित व्यक्तिबीच मनाउनु पर्ने बाध्यता भयो : मेयर शाक्य



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले स्थापना दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ । २६ औं काठमाडौँ महानगर दिवस बारे जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका प्रमुख एवं दिवस मुल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्यले यस्तो जानकारी दिनुभएको हो ।

‘काठमाडौँ महानगरपालिकाले सामुदायिक र सरकारी अस्पतालसँगको सहकार्यमा अहिले पनि मृर्गौलामा समस्या भएका महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने गरिरहेको छ । सबै काम आफैं गर्नुपर्छ भन्ने होइन । गुणस्तरीय सेवाका लागि बिशेषज्ञता हासील गरेका संघ संस्था तथा निकायसँगको सहकार्यमा नागरिकलाई आवश्यक पर्ने सेवा सहज बनाउने हाम्रो प्रयास हो ।’

उहाँले भन्नुभयो – ‘अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्ने, कोविड–१९ को महामारीका बेला अस्पतालहरुलाई पीसीआर मेसिनसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने, कोविड संक्रमण भएकाहरुलाई निःशुल्क अस्पताल पु¥याउनेलगायतका काम ग¥यौं ।’ स्वास्थ्य सेवा विस्तारका बारेमा जानकारी दिँदै उहाँले, समयमै सावधानी अपनाउन सके लाखौँ रुपैयाँ खर्च गर्नु पर्ने र लामो समयसम्म पीडा खप्न बाध्य मृगौलाको सम्भावित जोखिम र रोगबाट बच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागिएको हो ।

दक्ष चिकित्सकको टोलीसहित ३२ वटै वडामा पुगेर अभियान सञ्चालन गर्ने पनि मेयर शाक्यको भनाइ छ । महानगर दिवसकै अवसर पारेर काठमाडौँ महानगरपालिकाले महानगरवासीको अभिमत लिन हिजोदेखि ‘अभिमत संकलन बुथ’ सञ्चालन गरिरहेको छ । पूर्वाधार विकास, हरियाली प्रवर्धन, सम्पदा निर्माण–पुननिर्माण, सेवा प्रवाहलगायत क्षेत्रमा महानगरपालिकाले गरिरहेका कार्यक्रम र आगामी दिनमा गर्नु पर्ने कामका विषयमा वुथबाट सुझाव दिन सकिनेछ ।

धेरै मानिस आवतजावत हुने सहरका विभिन्न ३० स्थानमा बुथ राखिएको छ । ती बुथबाट करीब ४० हजार व्यक्तिको अभिमत संकलन हुने अपेक्षा गरिएको मेयर शाक्यको भनाइ छ । वि. सं. १९७६ पुष ३ गते सफाइ अड्डाको संस्थागत संरचनाबाट विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएकोे थियो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाइँदै आएको छ ।

‘अहिले विश्व नै कोरोनाको कहरमा छ । नेपाल र त्यसमा पनि संघीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिका पनि कोरोना कहरका कारण आक्रान्त छ । कोरोना रोकथाम र नियन्त्रणका विभिन्न प्रयास भैरहेको अवस्थामा विगतका वर्षहरुमा जसरी यो पटक महानगर दिवस धुमधामका साथ मनाउने अवस्था छैन ।

मेयर शाक्य भन्नुहुन्छ — ‘दिवस महानगरबासीकाबीच मनाउन सकिने अवस्था रहेन । कार्यक्रममा सीमित मात्र जनप्रतिनिधि र कर्मचारी सहभागी हुनुहुनेछ । यो अवस्था र बाध्यता आम सञ्चारका माध्यमले महानगरबासी र सरोकारवालासमक्ष पु¥याइदिनु हुन अनुरोध गर्दछु ।

यस वर्ष महानगर दिवसका अवसरमा ज्यापु समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँला बाजाका २३ वटा समूहका बाजा गुरु, इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे प्याखं, हल्चोक आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः परम्परागत बाजाका करीब १७५ जना बाजा गुरुहरूलाई सम्मान गरिनेछ । उक्त सम्मानबाट सम्मानित हुनेलाई जनही ३० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिनेछ ।

यसै गरी मखनकी जीवित कुमारी प्रकृति महर्जन र किलाघकी जीवित कुमारी रेसुका महर्जनलाई मासिक १५ हजार रुपैयाँ भत्ताबाट प्राप्त हुने रकमबाट सम्मान गरिनेछ । यस बर्षदेखि २ जना कर्मचारी र २ जना जनप्रतिनिधिलाई ‘जनकमान श्रेष्ठ सुशासन पुरस्कार’ प्रदान गरिनेछ । काठमाडौंका पहिलो जननिर्वाचित सभापति स्व. जनकमान श्रेष्ठका नाममा यो पुरस्कार स्थापना गरिएको हो । पुरस्कार २ जना महिला र २ जना पुरुषलाई प्रदान गरिनेछ ।

सेवामा अभिप्रेरित गर्ने उद्देश्यले ५ जना जनप्रतिनिधि र ५ जना कर्मचारीलाई ‘स्थानीय सेवा गौरव पदक’बाट सम्मानित गरिनेछ । यस्तै महानगरबाट प्रवाह हुने सेवा तथा कामका बिषयमा नियमित समाचार प्रकाशन–प्रसारण गर्ने समाचारकर्मीमध्येबाट १० जनालाई ‘सुशासन पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ ।

कार्यक्रममा बारेमा जानकारी दिँदै प्रवक्ता एवम् वडा – १५ का अध्यक्ष ईश्वरमान डंगोलले भन्नुभयो, ‘इन्द्रजात्रा सम्बन्धी अनुसन्धानात्मक पुस्तक विमोचन, उत्कृष्ट वडाको घोषणा एवं सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।’ महानगर दिवसलाई व्यवस्थित बनाउन काठमाडौँ महानगरका प्रमुख शाक्यको अध्यक्षतामा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु सदस्य रहेको २६ औं महानगर दिवस मुल समारोह समिति गठन गरिएको छ । यसैगरी पुरस्कृत व्यक्तित्व छनौट गर्न विभिन्न उपसमितिहरु ग्ठन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्