अछाम र डडेल्धुरा विजयी



विनोद सिंह विष्ट, बैतडी । 

प्रधानमन्त्री कप(पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमको पुरुष टोलीको प्रदेशस्तरीय छनोट प्रतियोगितामा कञ्चनपुरमा शुरू भएको छ । आज भएका खेलमा अछाम र डडेल्धुराले विजयी शुरूवात गरेका छन् ।

महेन्द्रनगरस्थित कभर्ड हल मैदानमा उद्घाटन खेलमा डोटीलाई ६१ रनले स्तब्ध पार्दै अछामले विजयी शुरूवात गरेको छ । अछामले दिएको १८९ रनको लक्ष्य पन्छाएको डोटी १२७ रनमा समेटियो । उसका लागि रिदम बलायरले ४२ रन जोडे पनि टिमलाई जिताउन सकेनन् । डोटीलाई सस्तैमा समेट्न अछामका दीपक विष्टले ३ विकेट हात पारे ।

यसअघि, पहिला ब्याटिङ गरेको अछामले ३५ ओभरमा अलआउट हुँदै १८८ रन जोडेको थियो । जसमा सुरज तिरुवाले अर्धसतकीय पारी खेल्दै ५२ रन हिर्काए । डोटीका सविन महरा र आयुष खड्काले ३/३ विकेट हात पारे । उत्कृष्ट प्रदर्शन गरेका अछामका सुरज तिरुवा ‘म्यान अफ द म्याच’ घोषित भए ।

यस्तै, खुलामञ्च खेलमैदानमा भएको अर्को खेलमा कञ्चनपुरलाई ६ विकेटले हराउँदै डडेल्धुराले पनि विजयी शुरूवात गरेको छ । कञ्चनपुरले दिएको १५७ रनको लक्ष्य डडेल्धुराले २३ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । टिमलाई जिताउन डडेल्धुराका सन्तोष भट्टले ५५ रनको योगदान गरे । कञ्चनपुरका मिलन बोहराले १ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको कञ्चनपुरले अनिल थापाको ४२ रनको मद्दतमा ९ विकेटको क्षतिमा १ सय ५६ रन जोड्यो । डडेल्धुराका रोशन भाटले ३ विकेट लिए । अर्धसतकीय पारी खेल्दै ५५ रन हिर्काउने डडेल्धुराका सन्तोष भट्ट ‘म्यान अफ द म्याच’ चुनिए ।

प्रतिक्रिया दिनुहोस्