प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति दुःख व्यक्त



काठमाडौं, (नेस) ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सकिएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो ।

कांग्रेसले प्रजातन्त्र सेनानी ८० वर्षीय श्यामलाल श्रेष्ठको मंसिर २६ गते भएको निधनबाट नेपाली कांग्रेस पार्टी स्तब्ध र मर्माहत भएको जनाएको छ । २०१८ सालमा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ पर्नुभएका स्वर्गीय श्रेष्ठले पटक–पटक गरी १७ वर्षभन्दा लामो समयसम्म बन्दी जेल जीवन बिताउनुभएको थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका स्वर्गीय श्रेष्ठ लोकतान्त्रिक मूल्य पद्धतिप्रति अविचलित आस्था, सादगीपूर्ण जीवन र निष्ठाको राजनीतिको प्रतिमूर्तिका रुपमा समेत परिचित हुनुहुन्थ्यो । स्वर्गीय श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलन/संघर्ष र पार्टी संगठनमा पु¥याउनुभएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले जनाएको छ । उहाँको निधनबाट पार्टीले प्रजातन्त्रका एक अथक् योद्धालाई गुमाएको छ ।

स्वर्गीय श्रेष्ठको सम्झनामा मंसिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, मंसिर २८ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोकपुस्तिका राख्ने तथा १३औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंले भौतिक दूरी कायम गर्दै शोक सभाको आयोजना गर्ने कांग्रेसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्