मदःफल्चाको पुनर्निर्माण सम्पन्न



ललितपुर, (नेस) ।

२०७२ सालको भूकम्पमा पूर्णरुपमा भत्किएको पुच्व पुस्तकालयसमेत रहेको ऐतिहासिक मदःफल्चा (पाटी) पुनर्निर्माण गरिएको छ ।
पुल्चोकमा रहेको यो फल्चाको पुनर्निर्माण प्रारम्भ नेपालले शुरु गरेको हो । प्रारम्भ नेपालले काम थालेपछि ललितपुर महानगरपालिका, साविक दाता कर्ममाया महर्जनलगायतले पुनर्निर्माणका लागि सहयोग गरेका थिए ।

पुस्तकालय तथा फल्चा उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यो फल्चा र पुस्तकालय ऐतिहासिक भएको बताउनुभयो । पुच्व पुस्तकालयको स्थापना साथीहरुको सहयोगमा आफूले स्थापना गरेको स्मरण गर्दै फल्चा निर्माणको काम २०३६ सालबाट शुरु भएको उहाँले जानकारी दिनुभयो । फल्चा निर्माणका लागि चन्दा संकलन गर्दा त्यतिबेला कर्ममाया महर्जनले १० हजार चन्दा दिएको उहाँले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो– ‘त्यो बेला पैसा धेरै महँगो थियो, धेरैले २५ पैसा चन्दा दिनुभएको थियो, त्यो बेला नै कर्ममायाले तिमीहरुले गरेको काम राम्रो छ, भन्दै १० हजार दिनुभएको थियो ।’ नगरप्रमुख महर्जनले फल्चा निर्माण गर्दा डोरबहादुर पाण्डेको सहयोगलाई समेत स्मरण गर्नुभयो । पुच्व पुस्तकालय ललितपुरको प्रसिद्ध पुस्तकालय भएको उहाँको भनाइ थियो । उहाँले समयअनुसार यो पुस्तालयकालाई प्रविधिसँग जोड्नुपर्ने धारणा राख्नुभयो ।

४१ लाखमा निर्माण सम्पन्न भएकोे पुस्तकालयसहितको यो फल्चाको ऐतिहासिक महत्व रहेको छ । रातो मच्छिन्द्रनाथको गरगहनाको लगत गणना गर्ने र भजनमण्डलले यस फाल्चामा बसेर भजनकीर्तन गर्ने गर्छन् ।

पुस्तकालयका अध्यक्ष विकास डंगोलले पुच्व पुस्तकालयलाई प्रविधिमैत्री बनाइने बताउनुभयो । ई–लाइब्रेरीको अवधारणाअन्तर्गत काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

साविक दाता कर्ममाया महर्जनले पाटी र पुस्तकालयको संरक्षणमा सहयोग गर्न पाएकोमा खुसी लागेको बताउनुभयो । पुल्चोक टोल सुधार समितिका कार्यवाहक अध्यक्ष सुरेन्द्रकुमार शाक्यले ललितपुर महानगरभित्र २०७२ सालमा भत्किएका ऐतिहासिक महŒवका सम्पदाहरु पुनर्निर्माणको काम धमाधम भइरहेको बताउनुभयो ।

प्रारम्भ नेपालका सल्लाहकार आनी छोइङ डोल्माले विकास निर्माणको काम गर्न विदेशीको भर पर्न नहुने बताउँदै आत्मनिर्भरताको यो गतिलो उदाहरण भएको बताउनुभयो । कार्यक्रममा प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षेत्री, उपाध्यक्ष गम्भीरकुमारी क्षेत्रीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्