‘म लिन गएको होइन, दिन आएको हुँ’



नेपाल समाचारपत्र, काठमाडौं ।

चक्रपथ सफाइका अभियन्ता ताराबहादुर कुँवरले स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश सांसदहरुले सामाजिक कार्यमा असहयोग गरेको गुनासो गर्नुभएको छ । उहाँले गृहजिल्ला काभ्रेको भुम्लु गाउँपालिका–४ चौबासमा सात लाख बराबरको विभिन्न सौन्दर्य प्रसाधनका सामग्री वितरण कार्यमा बोल्दै उहाँले आफूलाई उनीहरुले असहयोग गरेको बताउनुभएको हो ।

उहाँले विपन्न ३ सय ५० घरधुरीलाई राहतस्वरुप सौन्दर्य प्रसाधनका सामग्री वितरण गर्नुभएको थियो । आवश्यक परे बाँकी ३ सय घरधुरीलाई पनि ती सामग्री वितरण गर्न आफू तयार रहेको उहाँको भनाइ छ । वितरित सामग्रीहरुमा क्रिम, पाउडर, स्याम्पु, बेबी आयल, मास्क, सिटामोललगायत छन् । प्रदेश सांसद लक्ष्मण लम्साल, गाउँपालिका उपप्रमुख कल्पना क्षेत्री, वडाध्यक्ष तथा जनप्रतिनिधिको रोहबरमा ती सामग्री वितरण गरिएको थियो ।

कुँवरले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको तथा व्यक्तिगतरुपमा आफूले सकेको सामग्रीहरु राहतस्वरुप वितरण गरेको बताउनुभयो । कोरोनाका कारण लकडाउनमा परी दुःख पाएका, खान नपाएका तथा अशक्तहरुलाई उहाँले राहतस्वरुप तीसौंपटकसम्म सामग्रीहरु उपलब्ध गराउँदै आउनुभएको छ । अझै पनि सामाजिक कार्यलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

राजनीतिमा आएर आफ्नो हैसियत बिगार्ने त होइन भनी विभिन्न दलका नेता तथा सांसदहरुले आशंका गरेको बताउँदै उहाँले भन्नुभयो– ‘म लिन गएको होइनँ, दिन आएको हुँ ।’ राहत पाएपछि स्थानीयले गाउँमा नबसे पनि गाउँचाहिँ बिर्सेको रहेनछ भनी प्रतिक्रिया जनाएका थिए । उनीहरुले गाउँ बस्ने नेता नपाएको गुनासो पनि गरेका थिए । कुँवरले सोही कार्यक्रमलाई सम्बोधन गर्दा टुरिस्ट उम्मेदवारलाई मत नदिन आग्रह गर्नुभएको थियो । उहाँले स्थानीय नेताहरु खुट्टा तान्ने अभियानमा लागेको आरोप पनि लगाउनुभयो ।

यसैबीच कुँवरले धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ ताल्तीबाट २४ पौन्ड रगत पनि संकलन गर्नुभएको छ । रेडक्रसको सहयोगमा चेपाङबस्तीमा पुगेर उहाँले रगत संकलन गर्नुभएको हो । रक्तदानबारे जनचेतनाको अभाव हुँदा लक्ष्यअनुसारको रगत संकलन गर्न नसकिएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्