लैंगिक हिंसा अन्त्यका लागि रेडक्रससँग सहकार्य



नेपाल समाचारपत्र, काठमाडौं ।

व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ मङ्सिर १० देखि शुरू भएको लैंगिक हिंसा अन्त्यको १६ दिने अभियानको अवसरमा देशैभरि नेपाल रेडक्रस सोसाइटीले विविध कार्यक्रमहरु सम्पन्न गरेको छ ।

लैंगिक हिंसा अन्त्यको प्रतिबद्धतासहित ऐक्यबद्धता जनाउँदै नेरेसोका केन्द्रीय अध्यक्ष डा. नेत्र तिम्सिना, महामन्त्री पीताम्बर अर्याल, कोषाध्यक्ष सीताराम कोइराला, उपकोषाध्यक्ष होम पाठक तथा केन्द्रीय सदस्यहरू र कर्मचारीले लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता गर्दै आचारसंहितामा हस्ताक्षर गरेका छन् ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटीको विधानमै कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेर लैंगिक हिंसा अन्त्यका लागि कार्य गर्ने प्रतिबद्धता नेपाल रेडक्रसका अध्यक्ष डा. तिम्सिनाले गर्नुभयो । मानव अधिकारको सुनिश्चितता गर्न सके सबै वर्गविरूद्धको सबै प्रकारका हिंसा अन्त्य गर्न सम्भव हुने उहाँले बताउनुभयो ।

लैंगिक हिंसाको रोकथाम तथा प्रतिकार्यका लागि मानवीय संस्थाको भूमिकाका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठ, अपाङ्ग महासंघ, नेपालका कार्यक्रम प्रबन्धक मनीष प्रसाईं र नीलहीरा समाजका कार्यक्रम फोकल भक्ति शाहले समुदायमा हुने विभिन्न खालका हिंसाको अन्त्यका लागि मानवीय संस्थाको भूमिकाका विषयमा प्रस्तुतीकरण गर्नुभएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

अन्तरक्रियामा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले नेपाल रेडक्रसका प्रदेश तथा जिल्ला शाखामार्फत १६ दिने अभियानभरि देशैभर विविध गतिविधिको आयोजना गरिएको जानकारी दिँदै विभिन्न अध्ययनले महिलामाथिको हिंसा बढी देखिएकाले हिंसाविरुद्ध उजुरी गर्नुपर्ने र त्यसमा नेपाल रेडक्रसले शून्य सहनशीलताको नीति अपनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख अज्मत उल्लाहले महासंघको प्रतिबद्धताअनुसार यौन तथा लैंगिक हिंसा अन्त्यका लागि नेपाल रेडक्रससँग सहकार्य गर्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले हिंसा अन्त्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम नेपाल रेडक्रसको पहलकदमीका विषयमा प्रकाश पार्नुभएको थियो । लैंगिक हिंसाको अन्त्यका लागि मनाइने १६ दिने अभियानका सन्दर्भमा विगत १६ दिनदेखि नै नेपाल रेडक्रस सोसाइटीले सातै प्रदेश समिति र जिल्ला शाखाहरूसँग भर्चुअल अन्तरक्रियामार्फत लैंगिक हिंसाको अवस्था र कानुनी उपचारका विषयमा जानकारी गराएको थियो ।

१६ दिने अभियानका क्रममा कोभिड तथा अन्य आपत्कालीन अवस्थामा हिंसामा परेका तथा पर्न सक्ने महिला, बालबालिका, अपांगता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक तथा मजदुर वर्गलाई नगद सहयोग तथा सरसफाइ, स्वच्छता र मर्यादा सामग्री नेपाल रेडक्रसले वितरण गरेको छ ।

केन्द्रीय कारागारमा रहेका ३ सय ७६ जना महिलालाई १५ प्रकारका सामग्रीसहितको मर्यादा किट र तिनका १४ जना आश्रित बालबालिकालाई न्यानो लुगा, पौष्टिक आहार, शैक्षिक सामग्री तथा फलफूल वितरण गरिएको छ । त्यस्तै निलहीरा समाजका १ सय जना यौनिक तथा लैंगिक अल्पसंख्यक, सीतापाइला क्षेत्रका २९ जना मजदुरका परिवार र ललितपुरको ठैव क्षेत्रका पाँच जना मजदुरका आश्रित बालबालिकालाई स्वास्थ्य, सरसफाइ तथा मर्यादा सामग्रीसहित प्रतिव्यक्ति पाँच हजार नगद वितरण गरिएको छ ।

साथै १६ दिने महाअभियानको अन्तिम दिन डिसेम्बर १० मा संरक्षण, लैंगिक समावेशीकरण अभिमुखीकरण कार्यक्रम ललितपुरमा पनि आयोजना भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय महिला उपाध्यक्ष शर्मिला कार्कीले म हिंसा गर्दिनँ, म हिंसा सहन्न र म हिंसा नियन्त्रणका लागि आजैदेखि लाग्नेछु नारालाई साकार पार्न सबै रेडक्रसकर्मी एक हुनुपर्ने र सोसाइटीबाट सञ्चालित हुने लैंगिक तथा समावेशीकरणका गतिविधिलाई अझ सशक्त पार्दै लाने कुरामा सहभागीहरुलाई आश्वस्त पार्नुभयो ।

ललितपुर महानगरिय प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक किरण वज्राचार्यले कुनै पनि खालका लैंगिक हिंसालाई कानुनी दायरामा ल्याउने र त्यस्ता खालका घटनाहरु हुन नदिन सधैं प्राथमिकताका साथ प्रहरी प्रशासन लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोही क्रममा अतिथिद्वयलाई कार्यअवधि सफलताको शुभकामनासहित जिल्ला शाखाका सभापति बाबुराजा महर्जनले स्वागत गर्नुभएको थियो । कार्यक्रममा उपमन्त्री जगनाथ श्रेष्ठले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन उपकोषाध्यक्ष एवं लंैगिक तथा समावेशीकरण समितिका संयोजक ज्योति प्रधान श्रेष्ठ गर्नुभएको थियो ।

सोही अवसरमा सिरहा कारागारमा रहेका २० जना महिला कैदीबन्दीहरुलाई ३ हजारका दरले र दुई जना आश्रित बालबालिकाहरुलाई ३ हजार ५ सयका दरले मंसिर २४ मा नगद सहयोग वितरण गरिएको छ ।

सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पंजियार, नेपाल रेडक्रस सोसाइटी सिरहाका सभापति राजदेव यादव, मन्त्री राजदेव ठाकुर, कोषाध्यक्ष प्रमोदकुमार पोद्धारलगायत सिरहा कारागारका प्रतिनिधिहरुको उपस्थितिमा रकम वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्