फ्लाइट एटेन्डेन्टलाई डाइपर लगाउने सल्लाह



बेइजिङ, (एजेन्सी) ।

चीनको उड्डयन निकायले हालै जारी गरेको कोभिड–१९ सम्बन्धी नयाँ सुरक्षा निर्देशिकामा विमानभित्रका असुरक्षित शौचालय प्रयोग गर्नुको साटो फ्लाइट एटेन्डेन्टहरूलाई डाइपर लगाउन सल्लाह दिइएको छ । चीनको नागरिक उड्डयन प्रशासनको ‘एयरलायन्सका लागि विश्वव्यापी महामारी नियन्त्रण तथा रोकथामसम्बन्धी प्राविधिक निर्देशिका’ नामक सो दस्तावेजमा उडानको क्रममा विमानभित्र चालक दलका सदस्यहरूलाई कोरोना भाइरसबाट संक्रमित हुन नदिन स्वास्थ्य सचेतनाबारे सुझाबहरू उल्लेख गरिएका छन् ।

मेडिकल मास्क र पर्सनल प्रोटेक्टिभ इक्विपमेनट ( पिपिई ) को प्रयोगका लागि पनि सल्लाह दिइएको सो निर्देशिकामा उल्लेखित अस्वाभाविक डाइपर प्रयोगलाई लिएर अनलाइनको व्यापक ध्यानाकर्षण भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

गत अगस्टमा इटालीबाट दक्षिण कोरियामा विमानबाट यात्रा गर्ने एक महिलालाई कोभिड–१९ संक्रमण भएपछि चीनको उड्डयन निकायले यो कदम चालेको हो । अनुसन्धानको क्रममा ती महिलाले विमानभित्र शौचालय प्रयोग गर्ने क्रममा मात्र मास्क खोलेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्