लुम्बिनी विकास कोष चरम आर्थिक संकटमा



Panel indicating the Lumbini development trust office at Lumbini Nepal, marks the birth place of Siddhartha Gautam Buddha. In 1976, the Nepalese Government and UNESCO designated Lumbini as a world heritage site. -The full text reportage is available on request in Word format

यमलाल भुसाल, बुटवल । 

भगवान् बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर र परिसर ८ महिनापछि सर्वसाधारणका लागि खुला गरिए पनि पर्यटक आगमनको अवस्था शून्यसरह रहेको छ । वर्षभरिमा सबैभन्दा बढी पर्यटक आउने महिना मंसिर भए पनि कोरोनाको कहरले गर्दा यो महिना शून्यसरह रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

विशेष गरी लुम्बिनीमा नोभेम्बरदेखि मार्च महिनासम्म पर्यटक तथा तीर्थालु आउने महिना भए पनि कोरोना कहरले यी महिनामा अन्तर्राष्ट्रिय नाका, सीमावर्ती स्थलनाका र नेपालमा लकडाउन हुँदा लुम्बिनीमा प्रवेश निषेध भएकाले ठूलो आर्थिक संकट परेको छ ।

सरकारी स्वामित्वको लुम्बिनी विकास कोष भए पनि सरकारले केवल लुम्बिनीमा भौतिक पूर्वाधार निर्माणका लागि मात्र बजेट उपलब्ध गराउने र अन्य प्रशासनिक तथा चालू खर्च भने विकास कोषले आन्तरिक आम्दानीबाट व्यवस्था गर्नुपर्ने भएकाले निकै आर्थिक समस्या भएको कोषका सदस्य सचिव सानुराज शाक्यले बताउनुभयो ।

चालू खर्चतर्फ मासिक १ करोड रुपियाँ खर्च आउने लुम्बिनी विकास कोषमा ८ महिनासम्म १ रुपियाँ पनि आम्दानी नहुँदा निकै समस्या भएको र कोषमा काम गर्ने ज्यालादारी कर्मचारीलाई महिनामा केवल १५ दिनको मात्र तलब उपलब्ध गराउने गरेको सदस्य सचिव शाक्यले बताउनुभयो । कोषमा दैनिक ज्यालादारी, करार र स्थायी गरी २ सय ६० जना कर्मचारी कार्यरत रहेका छन् ।

कोषमा रहेको मौज्दात रकमबाट ८ महिनाको खर्च जेनतेन व्यवस्थापन गरिएको र अब पनि यो अवस्था लम्बिएमा कोषमा आर्थिक संकट उत्पन्न हुने समेत सदस्य सचिव शाक्यले बताउनुभयो ।

लुम्बिनीस्थित मायादेवी मन्दिर खुला भएको २४ दिन बित्दा पनि एक जना पनि विदेशी पर्यटक आउन सकेका छैनन् भने रुपन्देही, कपिलवस्तु र नवलपरासीका मात्र दैनिक ९ सयजति पर्यटक आउने गरेका छन् । यी ३ जिल्लाका पर्यटकलाई लुम्बिनी भ्रमण गर्न र निरीक्षण गर्न कुनै शुल्क नलाग्ने भएकाले पनि पर्यटक आए पनि आम्दानी शून्यसरह नै रहेको कोषका सूचना अधिकारी राजन बस्नेतले बताउनुभयो ।

यही मंसिर ३ गतेदेखि सर्वसाधारणका लागि लुम्बिनी परिसर खुला गरिएको २१ गतेबाट मन्दिर क्षेत्र पनि खुला भए पनि २४ दिनमा केवल रुपन्देही कपिलवस्तु र नवलपरासीका मात्र २२ हजार आन्तरिक पर्यटकले लुम्बिनी अवलोकन गरेको सदस्य सचिव शाक्यले बताउनुभयो ।
यसअघि मंसिर ३ गतेदेखि मायादेवी मन्दिरबाहेकको लुम्बिनी क्षेत्र घुम्नका लागि खुला गरिएको थियो ।

त्यसको १८ दिनपछि लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागि खुला गरिए पनि लुम्बिनीमा आउने पर्यटकको चहलपहल खासै बढ्न नसकेको कोषका सूचना अधिकारी बस्नेतले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यही मंसिर २१ गते आइतबारका दिन लुम्बिनीमा आएर मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुला गरिएको घोषणा गर्नुभएको थियो ।

कोरोना माहामारीका कारण गत चैत ११ देखि बन्द रहेको मन्दिर ८ महिनापछि सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर घुम्न दिने भन्दै मन्दिर खुला गरिएको मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष भट्टराईले सोही दिन बताउनुभएको थियोे ।
कोषले मन्दिर प्रवेश गर्ने सबै सर्वसाधारणले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, टेम्प्रेचर नाप्नुपर्ने, सेनिटाइज हुनुपर्ने, विकास कोषले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपले अपनाउनुपर्ने, भीडभाड नगरी एकपटकमा ८–१० जना मात्र प्रवेश गर्न पाइने व्यवस्था मिलाएको छ ।

लामो समयको बन्दाबन्दीका कारण लुम्बिनी इतिहासमै यति ठूलो आर्थिक संकटमा परेको पहिलो हो । लुम्बिनी मात्र नभई लुम्बिनी क्षेत्रमा रहेका होटल, पर्यटन, टुर एन्ड ट्राभल्स पसल गर्नेहरु पनि निकै समस्यामा रहेका बताइएको छ । विशेष गरी भारतीय सीमानाका र अन्तर्राष्ट्रिय नाका खुला नहुँदासम्म लुम्बिनीमा आउने पर्यटक र तीर्थालुहरुको आगमन शून्यसरह नै रहने र कोषलाई तबसम्म आर्थिक संकट रहिरहने सदस्य सचिव शाक्यले स्पष्ट पार्नुभयो ।

पर्यटक तथा तीर्थालुको भीडभाड नभएकाले र लामो समयको बन्दाबन्दीका कारण लुम्बिनी सफा सुन्दर भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्