समाजवादोन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारीमा नेकपा : अध्यक्ष दाहाल



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादोन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताउनुभएको छ । नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गर्नुभएकी नेतृ कौसर साहसहित १०९ नेता तथा कार्यकर्तालाई आज दिउँसो पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष दाहालले भन्नुभयो, “हाम्रो पार्टीभित्र चल्ने बहस र छलफल त्यही समाजवादतिरको यात्राका लागि हुन् । समाजवादतिरको यात्रामा अगाडि बढ्ने सन्दर्भमा हाम्रो कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यतालाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता हामीले पालना गर्ने, कस्तो विधि विधान र पद्धति स्थापित गर्ने भन्ने नै हाम्रा बहसका विषयहरु हुन् ।”

अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई फलाउने, फुलाउने र यस प्रणालीमार्फत देशमा आर्थिक विकासको नयाँ यात्रातिर आफूहरु अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो बेला पक्कै पनि चुनौती आउँछन् । ती समस्या र चुनौतीको पनि सामना गर्न सक्ने तागत कम्युनिष्ट पार्टीभित्रै छ ।

कम्युनिष्ट पार्टीले आफैँभित्रबाट त्यो तागत पैदा गरेर हामीले समाजवादतिर लाग्नेछौँ ।” उहाँले नवआगन्तुकलाई स्वागत गर्दै पार्टीमा योग्यता, क्षमता र अनुभवका आधारमा उचित जिम्मेवारी दिइने र एक भएर उक्त जिम्मेवारी पूरा गर्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले साहलाई विगतदेखि नै आफ्नै पार्टीको नेता ठान्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मन मिल्नेहरु एउटै ठाउँमा आउँदा रहेछन् । मानिसको बानी व्यहोरा र चिन्तन प्रणालीले एक ठाउँमा ल्याउने रहेछ ।”

नेतृ साहले नेपाली काँग्रेसभित्र मौलाएको गलत प्रवृत्तिका कारण आफूले सो पार्टी परित्याग गरेको बताउनुभयो । उहाँले देशमा आएको जाति, लिङ्ग र समुदायमा आएको परिवर्तन कम्युनिष्ट पार्टीले नै ल्याएको दाबी गर्नुभयो । दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उहाँ संविधानसभा सदस्य हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्