तिलोत्तमामा स्थानीय पाठ्यक्रम लागु ‘मेरो खल्ती : मेरो पहिलो डष्टबिन’ समावेश



यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउने गरी निर्माण गरिएको पाठ्यक्रम चालू शैक्षिक सत्रबाट कार्यान्वयनमाआएको हो । नगरपालिकाले स्थानीय पाठ्यक्रमको बारेमा विषय शिक्षकहरुलाई प्रबोधिकरण समेत गराएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा उप-सचिव गंगाराम आचार्यले नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । तिलोत्तमामा हाल ८५ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरु छन् ।

पहिलो चरणमा कक्षा १ देखि ५ सम्म एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा आएको हो । दोस्रो चरणमा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण गर्ने नगरपालिकाको तयारी छ । पाठ्यक्रममा नगरको भुगोल, कला, संस्कृति, भाषा, धर्म, स्वास्थ्य, सरसफाई, पर्यावरण, पेशा–व्यवसाय, शिक्षा, सामाजिक संघ–संस्थालगायतका विषय समेटिएको छ ।

स्थानीय पाठ्यक्रम क्रियाकलापमा आधारित रहेकोले यो विद्यार्थीका लागि रुचीकर रहने पाठ्यक्रम निर्माण समिति संयोजक दामोदर भुसालले बताउनुभयो । स्थानीय पाठ्यक्रममा सरसफाईसँग सम्बन्धित ‘मेरो खल्ती : मेरो पहिलो डष्टबिन’ कोअवधारणलाई पनि समेटिएको छ ।

पूर्णसरसफाई उन्मूख तिलोत्तमा नगरपालिकाले सरसफाईको व्यवहारिक ज्ञान विद्यार्थीलाई कक्षा १ बाट नैं दिनेगरी त्यसलाई पाठ्यक्रममा समेटको हो । चकलेट, जंकफूडलगायतका खोल जहाँ पायो त्यहीँ नफ्याँकी आफ्नै खल्तीमा राख्ने र पछि उचित ठाउँमा व्यवस्थापन गर्ने अवधरणा ‘मेरो खल्ती : मेरो पहिलो डष्टबिन’ को रहेको छ ।

यो अवधारणाको व्यवहारिक कार्यान्वयनले सरसफाईमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ । नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकोमा तिलोत्तमाले त्यसको अभ्यास गरेको हो ।

विद्यालयहरुले स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराउनेछन् । पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले गठन गरेको समितिले जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवा, शिक्षाविद्लगायतको सुझावको आधारमा स्थानीयपाठ्यक्रम निर्माण गरेको हो ।

समितिले विभिन्न चरणमा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रियापछि प्राप्त सुझावका आधारमा पाठ्यक्रमलाई अन्तिम रुप दिएको संयोजक भुसालले बताउनुभयो । पाठ्यक्रम निर्माण समितिका सदस्यहरुमा टंकप्रसाद पौडेल, खेमराज पाण्डे, रमेश ज्ञवाली र सदस्य सचिव शारदा भट्टराई रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्