बिश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाईन निर्मााण शुरु, नमुना रिर्सोट र र्‍याफ्टिङ्गसंगै



दुर्गाप्रसाद शर्मा, पर्वत ।

साहसिक खेलको गन्तब्य बन्दै गएको पर्वतको कुस्माबजारमा विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइनको निर्माण शुरु गरिएको छ । कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइन निर्माण गर्न लागिएको हो।

जीप लाईन संगै नेपालकै नमुना रिर्सोट तथा र्‍याफ्टिङ्ग निर्माण गरिने भएको छ । कुस्माका नगरप्रमुख रामचन्द्र जोशी सहित स्थानिय युवा उद्यमीहरुले स्थापना गरेको हार्नेस जिपलाइन प्रा.लिले निर्माण गर्ने सुपरम्यान शैलीको जीपलाईन सहितका सहासिक पर्यटकीय संरचनाको शुक्रबार शिलन्यास गरिएको छ । ]

कुस्माका नगरप्रमुख तथा लगानीकर्ता रामचन्द्र जोशीले जीपलाईनको शिलन्यास गर्नुभयो । सुपर म्यान शैलीमा पर्वतको जिपलाइन विश्वकै दोस्रो लामो भएको कम्पनीका सचिब सुनिल बानियाँले बताउनुभयो । सुपर म्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको छ।

पर्वतमा बन्दै गरेको जीपलाईन सुपर म्यान शैलीको बनाउन लागिएको छ। क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपरम्यानमा सुपरम्यान जस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ। ‘नेपालमा क्लासिक शैलीका जीप लाईन यो भन्दा लामो भएपनि सुपरम्यान शैलीमा यो बिश्वकै दोस्रो लामो हो।’ सचिब बानियाँले भन्नुभयो‘सहासकि पर्यटकीय गन्तब्यको रुपमा नयाँ स्वाद पर्यटकलाई दिन परियोजना अघि बढाइएको हो।’

यो जीपलाईनमा दुई जनाले संगै बग्न सकिने र ६० देखि ९० सेकेण्डमै गन्तब्यमा पुगिनेछ । जीपलाईन भारतको श्याम जीपलाईनले निर्माणको जिम्मा लिएको छ । निर्माण कमपनीका इन्जिनियर नविन मेस्सीका अनुसार हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा एक सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ ।

कालीगण्डकी नदीको सतहबाट २ सय ३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ। जीप लाईन संगै नेपालमै युनिक रिर्सोट, कालीगण्डकीमा जलयात्रा र रिर्सोट परिसरमा आधा दर्जन अन्य सहासिक खेल पनि सञ्चालन गर्ने योजना बनाएको सचिब बानियाँले बताउनुभयो ।

अहिले पनि कुस्मामा पर्यटकको बसाईको अवधी लम्बिन नसकेका कारण कम्तीमा पनि एक रात कुस्मामा राख्ने योजना कम्पनीको रहेको बाँनियाको भनाई छ । रिर्सोट परिसरबाट मोदीबेणी सम्म एक घण्टा र्‍याफ्टिङ्ग सञ्चालन गर्ने तथा रिर्सोटमा आधा दर्जन सहासिक खेल र स्विमिङ्गपुल समेत बनाउने योजना छ । रिर्सोटमा १ सय ५० जना राख्न सक्ने क्षमता रहनेछ ।

शिलन्यास कार्यक्रममा जिपलाइनका एक जना लगानीकर्ता कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कुस्मामा बन्ने जिपलाइनले कालीगण्डकी नदीलाई दुई ठाउँमा नाघेर जाने भएकोले अन्यत्र ठाउँमा रहेका जिपलाइन भन्दा पर्वतको जिपलाइनमा पर्यटकहरुको आकर्षण बढी हुने बताउनुभयो ।

जिपलाइन नजिकै अर्को साहसिक खेल बन्जी जम्प रहेकाले त्यहाँ आउने पर्यटकहरुले कालीगण्डकी नदी माथिको जिपलाइनको पनि अनुभव गरेर फर्किने उहाँको भनाई छ । जिपलाइन, रिसोर्ट र अन्य साहसिक खेल निर्माणको लागि प्रारम्भिक रुपमा ११ करोड खर्च लाग्ने अनुमान गरिएको छ। जसमा नगरप्रमुख जोशी सहित बिदुर पौड्याल, सुनिल बानियाँ, नरेन्द्र केसी, राजकुमार बस्नेत, सागर जोशी र सूर्यबहादुर क्षेत्रीले लगानी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्