इरानमा पत्रकारलाई फाँसी



तेहरान, (एजेन्सी)

इरानका एक पत्रकारलाई विरोध भड्काएको आरोपमा फाँसी दिइएको छ । पत्रकार रुहोल्लाह जामलाई मेसेजिंग एपका माध्यमबाट दंगा भड्काउने कृत्य गरेको आरोपमा शनिबार फाँसी दिइएको सरकारी सन्चार माध्यमले जनाएको छ । सर्वोच्च अदालतले उनको फाँसीको सजालाई कायम गरेको थियो ।

फ्रान्समा सरण लिइरहेका जाम कसरी गिरफतार भए भन्ने विषयमा अहिलेसम्म स्पष्ट हुन सकेको छैन । गतबर्ष इराक गए लगत्तै उनलाई गिरफ्तार गरिएको बताइएको छ । जाम अमादन्युज नामक एक सरकार विरोधी लोकप्रिया फोरम चलाउँथे । इरानमा अमादन्युजमा सन् २०१७ र १८ को देशब्यापी विरोध प्रदर्शनलाई भड्काएको आरोप लगाइएको थियो । १० लाख भन्दा धेरै फलोअर्स भएको अमादन्युजले मेसेजिंग एप टेलिग्राममा विरोध प्रदर्शनकारीहरुको भिडियो र इरानी अधिकारीहरुका बारेमा कयौं जानकारी साझा गरेको थियो ।

इरान सरकारले यो नेटवर्कलाई बन्द गराइएको थियो तर पछि यसलाई अर्कै नामबाट सुरु गरियो । सुधारवादी इस्लामिक विज्ञ मोम्मद अलि जामका छोरा रुहोल्लाहलाई इरानमा सबैभन्दा गम्भिर अपराध भ्रष्टाचारको आरोपमा दोषि ठहर्याइएको थियो । यद्यपी मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले जाम अनुचित सुनवाइको सिकार भएको जनाएको छ । जहाँ उनलाई जबरजस्ती अपराध स्विकार गराइएको थियो ।

केही दिन अघि फ्रान्सको विदेश मन्त्रालयले जामको मृत्यको सजायको फैसला इरानमा अभिब्यक्तीको स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि गम्भिर हमला भएको बताएका थिए । सन् २००९ को विवादित राष्ट्रपति चुनावपछि जामलाई इरानमा हिरासतमा लिइएको थियो । तर पछि उनी फ्रान्समा सरण लिन सफल भएका थिए ।

इरानको रिभोलुसनरी गार्ड कप्र्सले आधुनिक प्रविधि र रचनात्मक तरिकाबाट विदेशी गुप्तचर सेवालाई झुक्याउन सफल भएको र जामलाई गिरफ्तार गरिएको बताएको थियो । जाम फ्रान्स, इजरायल र अमेरिकी गुप्तचर एजेन्सीको सुरक्षा रहेको पनि रिभोलुसनरी गार्डले आरोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्