अमेरिकी सर्वोच्च अदालतद्वारा चुनावी नतिजा सम्बन्धी मुद्दा खारेज



वासिंगटन, (एजेन्सी) । 

अमेरिकी सर्वोच्च अदालतले चारवटा महत्वपूर्ण राज्यको राष्ट्रपतिय चुनावी नतिजा उल्टाउनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित प्रयासलाई अस्विकार गरेको छ । यसै साता टेक्सास राज्यले जर्जिया , मिचिगन , पेनसिल्भानिया र विस्कोन्सिन राज्यको चुनावी नतिजालाई अमान्य अर्थात अवैधानिक घोषित गरियोस् भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरिएको थियो ।

चुनावी परिणाम अनुसार ति चारवटै राज्यमा नव निर्वाचित राष्ट्रपति जोय बाइडेनले जितेका थिए । यस अदालती मुद्धालाई अठार वटा राज्यका महान्यायाधिवक्ता र कंग्रेसका एक सय छ जना रिपब्लिकन सदस्यहरुले समर्थन गरेका थिए । अदालतको संक्षिप्त कारवाही पछि सर्वोच्च अदालतले शुक्रवार आफ्नो निर्णय सुनाउने क्रममा टेक्साससंग मुद्धा अघि सार्ने कुनै कानुनी आधार नभएको जनाएको छ ।

नोभेम्वरमा सम्पन्न राष्ट्रपतिय निर्वाचनको परिणाम समस्या सर्वोच्च अदालतमा सुल्झिने आशा लिएर बसेका राष्ट्रपति ट्रम्प माथि अदालतको यो निर्णय ठूलो प्रहार सावित भएको छ । ट्रम्पले यस अघि विना कुनै ठोस प्रमाण पेश गरी सर्वोच्च अदालतले चुनावी नतिजा सम्बन्धी सही र ठोस निर्णय दिने प्रतिक्रिया दिएका थिए ।

यसै साताको शुरुमा अदालतले पेनसिल्भानिया राज्यमा बाइडेनको चुनावी जितलाई चुनौति दिँदै दायर गरिएको मुद्धा खारेज गरिसकेको छ । ट्रम्पले पटक पटक ‘ अवैध मत ’ ले आफ्नो दोश्रो राष्ट्रपति कार्यकालको मूल्य चुकाउनु परेको बताएका थिए । निर्वाचन यता ट्रम्प र उनका समर्थकहरुले चुनाव माथि प्रश्न तेर्साउँदै दर्जनौं मुद्धा दायर गरेका थिए । ति मध्ये कुनै पनि मुद्धाले बाइडेनको विजयलाई उल्टाउन सक्ने देखिएको छैन ।

डेमोक्रेटिक उम्मेदवार बाइडेनले ट्रम्प माथि अमेरिकी राष्ट्रपति छनौट गर्ने अमेरिकी इलेकटोरल कलेजमा २ सय ३२ विरुद्ध ३ सय ६ मत प्राप्त गरेर विजय हासिल गरेका थिए । बाइडेनले राष्ट्रभरि सत्तारुढ राष्ट्रपति ट्रम्पले भन्दा सत्तरी लाख भन्दा बढि मत प्राप्त गरेका थिए । बाइडेनलाई अमेरिकाको ४६ औं राष्ट्रपति घोषित गर्न सोमवार इलेक्टोरल कलेजको बैठक बस्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्