विश्वकप १९८२ का नायक रोसीको निधन



लन्डन, (एजेन्सी)
फिफा विश्वकप १९८२ का नायक पाओलो रोसीको ६४ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
१९८६ को विश्वकपका नायक डिएगो म्याराडोनाको निधन भएको दुई सातापछि अर्का विश्वकपका नायकले संसार त्यागे । स्पेनमा भएको १९८२ को विश्वकपमा इटालीले उपाधि जित्दा रोसीको प्रदर्शन नै महत्वपूर्ण भएको थियो । उक्त प्रतियोगितामा रोसी उत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए । सो प्रतियोगितामा उनी उच्च गोलकर्तासमेत बनेका थिए ।
सो विश्वकपका समूह चरणका तीनै खेलमा इटालीले बराबरी खेलेको थियो । इटाली जसोतसो दोस्रो समूह चरणमा पुगेको थियो । सो विश्वकपमा दुईवटा समूह चरण खेलाएर सीधै सेमिफाइनल खेलाएको थियो । रोसीले अर्को चरणमा ब्राजिलविरुद्धको खेलमा ह्याट्रिक गरेर इटालीलाई ३–२ को जित दिलाए । यसपछि सेमिफाइनलमा पोल्यान्डविरुद्ध २–० को जित हासिल गर्दा उनले दुवै गोल गरेका थिए । फाइनलमा पश्चिम जर्मनीलाई ३–१ ले हराउँदा उनले इटालीका लागि पहिलो गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्