राजेशले विश्वकपमा पाए रजत



भक्तपुर, (नेस)

भक्तपुर पाण्डुबजारका राजेश सुवालले ‘वल्र्ड पावर लिस्टिङ च्याम्पियनसिप २०२०’ मा रजत पदक हासिल गरेका छन् ।

विगत १५ वर्षदेखि शारीरिक सुगठनमा सक्रिय सुवालले ‘वल्र्ड पापर लिस्टिङ फेडेरेसन’(लन्डन) तथा ‘एमेच्योर पावर लिस्टिङ फेडेरेसन’ इन्डियाको आयोजनामा भएको स्पर्धामा रजत पदक हासिल गरेका हुन् ।

यही डिसेम्बर ५ देखि ८ सम्म भएको २१औं संस्करणको प्रतियोगितामा सिनियरतर्फ १ सय केजीमा सुवालले पदक हासिल गरेको आयोजकले जनाए । सुवालले कुल ५ सय ४५ केजी तौल उठाएका थिए ।

प्रतियोगितामा सहभागी सिनियरतर्फ हसन गुरुङ, जुनियरतर्फ आशिष आलेमगर, श्रुति कार्कीले गोल्ड मेडल तथा सिनियरतफर्का राजेश सुवालले रजत पदक जितेको एसियन पावर लिस्टिङ फेडेरेसनका उपाध्यक्ष तथा नेपाली टिमका प्रशिक्षक जीवन गिरीले बताए ।

स्पर्धामा तीन खेलाडीले स्वर्ण पदक र एकले रजत गरी कुल चार उपाधि नेपालले हासिल गरेको प्रशिक्षक गिरीले जानकारी दिए । उनले स्वर्ण पदक विजेता गुरुङले ८२.५ केजी, आलेमगरले १ सय १० केजी र श्रुति कार्कीले ५६ केजी तौल उठाएर जित हासिल गरेको बताए ।

प्रतियोगितामा दक्षिण एसियालगायत विभिन्न देशका खेलाडीहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा ५ जना खेलाडीसहित २ जना अफिसियल, एसियन पावर लिस्टिङ फेडेरेसनका प्रशिक्षक जीवन गिरी तथा नेपाल पावर लिस्टिङ फेडेरेसनका सल्लाहकार केदार स्थापित सहभागी भएका थिए ।

सुवालले गत वर्ष भक्तपुरमा आयोजना भएको वेन्च प्रेस प्रतियोगितामा १६५ केजी तौल उठाई नेपालको ऐतिहासिक कीर्तिमानसमेत बनाएका थिए । सुवालले पोखरामा पावर जिम एन्ड फिटनेस सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्