रोबोर्टले घर–घरमा खाना पुर्याउँदै



मस्को, (एजेन्सी)
रसियाको राजधानी मस्कोमा ‘यान्डेक्स डट रोभर’ नामक चालकविहीन रोबोर्टले घर–घरमा ग्राहकहरूलाई रेस्टुरेन्टका तात्तातो खाना पुर्याउन थालेको छ । कोरोना भाइरस महामारीलाई ध्यानमा राखेर रुसी इन्टरनेटको विशाल कम्पनी ‘यान्डेक्स’ले यस भरपर्दो सेवा सुचारु गरेको हो ।

मस्कोमा ‘दि यान्डेक्स डट इट्स’ एप खाद्यान्न तथा अन्य सामानहरूको आपूर्तिका लागि एक चिरपरिचित नाम बन्दै छ । पहिला–पहिला घरमै बसेर खानाको अर्डर गर्नेहरूलाई मानिसहरुले नै खाना पुर्याउँदै आएका थिए । केही समयअघि परीक्षणका रूपमा शुरू गरिएको यस यान्डेक्स सेवाले विस्तारित रूप लिँदै गरेको यान्डेक्सका महिला प्रवक्ताले बताएकी छिन् ।

ग्राहकहरूले यसरी आफ्नो अर्डरबमोजिम खाना बोकेर आउने रोबोर्टको बाकस आफ्ना स्मार्ट फोन प्रयोग गरी अनलक गर्छन् र खाना निकाल्छन् । ह्वाइट स्क्वायर क्षेत्रमा अहिले तीन रोबोर्ट कार्यरत छन् । तर, मस्को शहरभरि भने बिसवटा रोबोर्ट परिचालित छन् । यान्डेक्सले पहिलेदेखि नै सामान आपूर्ति गर्ने काममा डेलिभरि क्लबसँग प्रतिस्पर्धा गर्दै आएको हो ।

केही समयअघि लकडाउनका समयमा पनि घर–घरमा सामान पुर्याउने कुरियरहरूको सम्मानमा पाँचवटा खुद्रा सामान बिक्रेता कम्पनीले मस्कोमा एउटा स्तम्भ निर्माण गराएका थिए । यान्डेक्स केही व्यक्तिमाझ रुसी गुगलको रुपमा पनि परिचित छ ।

 

प्रतिक्रिया दिनुहोस्