सन्थाल जातिको एकीकृत बस्ती निर्माण अध्ययन शुरु

एक महिनाभित्र योजना बन्ने



नेपाल समाचारपत्र, काठमाडौं

शहरी विकास मन्त्रालयले उर्लाबारीस्थित सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने विषयमा विस्तृत अध्ययन गर्न इन्जिनियरसहितको टोली मोरङको उर्लाबारी पठाएको छ ।

टोलीमा शहरी विकास मन्त्रालयका सहसचिव सुरेन्द्रमोहन श्रेष्ठको संयोजकत्वमा योजनाविद् इन्जिनियर शशीन्द्र घिमिरे, सूर्यबहादुर प्रजापति, कृष्णप्रसाद तिमिल्सिना, डा. केदार दाहाल र नीलमणि मिश्र रहनुभएको छ ।

टोलीले बस्तीको विषयमा विस्तृत अध्ययन प्रतिवेदन तयार गरी एक महिनाभित्र मन्त्रालयलाई बुझाउनेछ । उक्त टोलीलाई निर्देशन दिँदै शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले अल्पसंख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरुलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने सरकारको लक्ष्यअनुसार काम अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हामीले जस्तो योजना बनाउन खोजेका छौं, सोहीअनुसार अध्ययन गर्नुस्, हतारमा काल्पनिक योजना नबनाउनुस्, सबै सरोकावालासँग समन्वय गरेर प्रतिवेदन तयार गर्नुस् ।’ उहाँले स्थलगत निरीक्षण गरी बस्ती विकास गर्दा उनीहरुको संस्कृतिमा कुनै असर नपरोस् भन्नुभयो ।

राणाहरुले अफ्रिकाबाट नेपाल भित्र्याएको भनिएको यी जातिको उत्थानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो– ‘तपाईंहरुले गरेको यो अध्ययनले सरकारलाई सन्थाल जातिको एकीकृत र व्यवस्थित बस्ती विकास गर्न सहज पुग्नेछ ।’

निर्देशन दिने क्रममा सचिव डा. रमेशप्रसाद सिंहले स्थानीय सरकारको समन्वयमा बस्ती विकासका लागि पूर्वाधार निर्माण गर्ने स्थान पहिचान गर्ने, सुरक्षित बस्ती मापदण्डअनुसार निर्माण गर्ने विषयमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

टोलीले बुधबारबाट काम थालेको छ । टोलीमा स्थानीय निकाय अधिकारी, विज्ञ, प्रदेश योजना आयोगका अधिकारीसमेत सहभागी हुनेछन् । टोलीले एक महिनाभित्र विस्तृत अध्ययन प्रतिवेदन तयार गरी मन्त्रालयलाई बुझाउनेछ ।

यही मंसिर ९ गते मन्त्री कृष्णगोपाल श्रेष्ठ र सचिव डा. रमेशप्रसाद सिंहसहितको टोलीले सन्थाल बस्तीको अवस्थाबारे स्थलगत अवलोकन गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत दयनीय अवस्थामा खोला किनारामा बसोबास गर्दै आएका सन्थाल बस्तीलाई व्यवस्थित बस्ती विकास गरी स्थानान्तरण गर्न आग्रह गरेपछि मन्त्री श्रेष्ठ उर्लाबारीस्थित बस्तीको अवलोकन गर्न पुग्नुभएको थियो ।

उर्लाबारी नगरपालिका–८ स्थित नदी किनारामा रहेको सन्थाल जातिको प्रस्तावित एकीकृत बस्तीको अवलोकनपछि शहरी मन्त्री कृष्णगोपाल श्रेष्ठले सो क्षेत्रमा व्यवस्थित एकीकृत बस्ती विकास गर्ने जानकारी दिनुभएको थियो ।

लोपोन्मुख र सीमान्तकृत सूचीमा रहेका सन्थाल जातिको उत्थानमा कुनै कमी हुन नदिने बताउँदै सचिव डा. सिंहले सरकारले उच्च प्राथमिकतामा राखेको प्रस्तावित एकीकृत बस्तीलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्