एन्फाको केन्द्रीय कार्यसमितिको महत्वपूर्ण निर्णयहरु



फिरोज राजोपाध्याय, काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको ११औं केन्द्रीय कार्यसमिति बैठकबाट केही महत्वपूर्ण निर्णयहरु पारित गरेको छ ।

बैठक शुरु हुन अघि गत नोभेम्बर २५ मा दिवंगत भएका डिएगो म्याराडोनाको सम्झनामा एक मिनेट मौन धारण गरेको एन्फाले जनायो । एन्फाको कार्यसमिति बैठकमा फुटबल प्रतियोगिता गर्नेदेखि लिएर प्रमुख प्रशिक्षक योहान कोलानबारे समेत निर्णय भयो । एन्फाले कोलिनबारे के गर्ने भन्ने अन्यौल सो बैठकले स्पष्ट पारेको छ ।

कोलिन कोरोना भाइरसको महामारी शुरु भएदेखि आफ्नै निवास स्विडेनमा रहेका छन् । कोलिनले उतैबाट नोभेम्बर १ तारिखमा राजीनामा दिएका थिए । सो राजीनामा स्विकार्य गरेको भन्दै एन्फाले उनको स्थानमा हाल बालगोपाल महर्जनलाई नेपाली राष्ट्रिय पुरुष फुटबल टिम सम्हाल्ने बतायो । महर्जनको नेतृत्वमा हालै मात्रै पनि सो टिमले बंगलादेशमा दुई मैत्री खेल खेलेको थियो ।

यसैगरी प्रतियोगिता संचालन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्विकृत लिने एन्फाले जनायो । शहिद स्मारक बी डिभिजन लिग २०७६÷७७ का बाँकी खेलहरु, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, राष्ट्रिय महिला लिग, राष्ट्रिय लिग लगायतका प्रतियोगिता आयोजना गर्न एन्फाले पहल गरिरहेको छ । तर यस वर्षको सहिद स्मारक ए डिभिजन लिग प्रतियोगिता नगर्ने एन्फाले पहिल्यै घोषणा गरेको छ । यसको सट्टा राष्ट्रिय लिग आयोजना गर्न लागेको हो ।

एन्फा कन्ग्रेस (साधारण सभा) बैठक आगामी माघ ६ गते एन्फाको निर्णय रहेको छ । यस्तै राष्ट्रिय पुरुष र महिला टोलीको तलबभत्ता समान १८ हजार कायम गरी एन्फाले राम्रो शुरुआत गरेको छ । यसअघि पुरुष खेलाडीको १५ हजार तलब थियो भने महिला खेलाडीको ९ हजार तलब थियो ।

नेपालले विश्वकपका छनौट खेलहरु खेल्न बाँकी छ । यसका लागि तयारी गर्न एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा, स्थानीय संयोजक विजय घले र सुरक्षा समितका संयोज दिनेश व्यन्जनकारसहित समन्वय गरी मैत्री खेलहरुमा सहभागिता तथा आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमका लागि यही मंसीर २८ गतेदेखि बन्द प्रशिक्षण शुरु गर्ने निर्णय गरिएको छ ।

शाह र श्रेष्ठको सालिक निर्माण गरिने
एन्फाको सो बैठकले एन्फाका पूर्व उपाध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठ र नेपाली फुटबलमा म्याराडोना उपनामले परिचित स्वर्गीय मणि शाहको अर्धकद सालिक एन्फा परिसरमा निर्माण गर्ने भएको छ । श्रेष्ठको २०७२ सालमा करेन्ट लागेर दुःखद निधन भएको थियो ।

त्यस्तै शाहको २०७ सालमा निधन भएको थियो ।

एन्फाका अन्य निर्णयहरु यसप्रकारका छन्ः
–क्लबहरुको लाइसेन्सिङको मापदण्डहरु पारित गर्ने ।
–एन्फाका विभिन्न विभागहरुको रणनीतिक योजना अनुमोदन गर्ने ।
–युवा विकास परियोजना पारित गर्ने ।
–फिफा रेफ्रीहरुको तलबभत्ता ६ हजारबाट बढाएर १० हजार पु¥याउने ।
–एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा खेलाडी दर्ता नियमावली संसोधन गर्न प्रतिवेदन पेश गर्ने।
–एन्फाको कृत्रिम घाँसे खेल मैदानमा टे«निङ फ्लडलाइट जडान गर्ने ।
–फुटसल र बीच सकर प्रतियोगिता आयोजना गरिने ।
–कास्कीस्थित एन्फा बहुउद्देश्यीय फुटबल प्राविधिक केन्द्र निर्माणको लागि टेण्डर आह्वान गर्ने ।
–जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना तथा निर्माण गर्न ११ जिल्लामा स्थानीय सरकारले कुल लागतको ५० प्रतिशत साझेदारी गराउने । ती जिल्ला हुन्—धनुषा, कैलाली, गोरखा, बाँके, मकवानपुर, इलाम, बर्दिया, नुवाकोट, उदयपुर, झापा र सिन्धुपाल्चोक ।

प्रतिक्रिया दिनुहोस्