सबै स्थानीय तहमा गुनासो पेटिका



न्युज अफ नेपाल, हेटौंडा ।

प्रहरी कार्यालयका साथै प्रहरीबाट सम्पादन भएका कामकारबाहीका सम्बन्धमा आमनागरिकबाट प्राप्ते हुने सल्लाह र सुझावका साथै गुनासोलाई उचित सम्बोधन गरी प्राप्त सल्लाह र सुझावअनुरुप प्रहरी सेवालाई परिमार्जन गर्ने उद्धेश्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बिहीबार दोस्रो चरणअन्तर्गत प्रदेशका सबै गाउँपालिकामा गुनासो तथा सुझाव संकलन पेटिका राखेको छ ।

बिभिन्न चरणमा गरी प्रदेशका सबै स्थानीय तहका कार्यालयमा गुनासो तथा सुझाव संकलन पेटिका राख्ने कार्ययोजनाअन्तर्गत् दोस्रो चरणमा प्रदेशका ६७ गाउँपालिका कार्यालयमा गुनासो तथा सुझाव संकलन पेटिका राखिएको सूचना समन्वय अधिकृत प्रनि रोशन थापाले बताउनुभयो ।

प्रथम चरणमा बागमती प्रदेश प्रहरीअन्तर्गत् १० जिल्लाका महानगरपालिका एक, उपमहानगरपालिका एक, नगरपालिका पच्चीस र सदरमुकाममा रहेका गाउँपालिका एक गरी ३१ स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राखिएको थियो । तेस्रो चरणमा प्रदेशका ८ सय ७४ वटा वडामा पेटिका राखिने प्रनि थापाले बताउनुभयो ।

प्रथम र दोस्रो चरणमा गरी प्रदेशका ९८ स्थानीय तहमा पेटिका राखिएको छ । नागरिकबाट प्राप्त गुनासो तथा सुझावलाई व्यबस्थित र तत्काल सम्बोधन गर्ने उद्धेश्यले प्रदेश प्रहरी कार्यालय हेटौंडाले सुझाव पेटिका सञ्चालन सम्बन्धि कार्ययोजना तयार गरी बिभिन्न चरणगत्रुमा प्रदेशका स्थानीय तहको कार्यालयमा पेटिका राख्ने योजना तय गरेको थियो ।

हरेक प्रहरी कार्यालयमा उजुरी पेटिका रहे पनि नागरिकको सहज पहुँचमा नभएको र प्रहरी कार्यालयमै प्रहरीविरुद्ध उजुरी गर्न सेवाग्राहीले सहजता महसुस गर्ने नभएकाले स्थानीय तहमा गुनासो तथा सुझाव संकलन पेटिका राखिएको हो । नागरिकले पेटिकामार्फत् प्रदान गर्ने गुनासो तथा सुझावलाई प्रदेश प्रहरी कार्यालयले हरेक १ गते स्थानीय तहका प्रतिनिधि र स्थानीय प्रहरीको रोहवरमा संकलन गरी गुनासो तथा सुझाव सम्बोधनका लागि प्रदेश प्रहरी कार्यालयमा उजुरी छानबिन शाखा स्थापना गरेको छ ।

प्राप्त उचित गुनासो तथा सुझाव कार्यान्वयन गरी सोको जानकारी सम्बन्धित व्यक्तिलाई दिनुका साथै प्रदेश प्रहरीको आधिकारिक वेवसाइटमार्फत् सार्वजनिक गरिनेछ । उजुरी पेटिकामा नागरिकले प्रहरी कार्यालय र प्रहरीका कामकारबाहीका सम्बन्धमा आफ्ना गुनासो, प्रहरीसँग राखिएको अपेक्षा र सल्लाह राख्न सक्नेछन् । असोज र कार्तिक महिनामा १० वटा गुनासो तथा सुझाव परेका थिए । ती उजुरी कार्यान्वयन गरिसकिएको थापाले दाबी गर्नुभयो ।

स्थानीय निकायसँगको सहकार्यलाई थप दरिलो बनाउँदै दीगो र दीर्घकालीन साझेदारी संयन्त्र निर्माण गर्ने, सर्वसाधारणको प्रहरीप्रतिको विश्वास बृद्धि गर्ने, प्रहरीसेवा सञ्चालनमा रहेका त्रुटि, कमीकमजोरी पहिचान गर्दै सो कार्यमा आवश्यकतानुसार सुधार गरी प्रहरी सेवालाई सुदृढ बनाउने, प्रहरी दायित्वको प्रभावकारी सम्पादनका लागि आगामी रणनीति तयार गर्न पृष्ठपोषण प्राप्त गर्ने, आचरणविरुद्ध कार्य गर्ने प्रहरी पहिचान गरी संगठन शुद्धीकरण अभियानलाई सबल बनाउने, सूचना संकलन प्रभावकारी बनाउनु पेटिका राख्नुको उद्धेश्य रहेको थापा बतानुहुन्छ ।

सुशासन पाउने नागरिक अधिकारलाई व्यबहारमा उतारी कार्यान्वयनमा ल्याउने उद्धेश्य पनि छ । पेटिकामा रहेका पत्रहरु निकाली दस्तखतसहित खामबन्दी गरी संकलन गरिनेछ । पत्रहरु प्रदेश प्रहरी कार्यालयका लागि संकलन गरिने भएकोले उजुरीकर्ताको गोप्यतालाई ध्यानमा राखी पेटिकामा भएको पत्र नखोली, नपढी सुरक्षितसाथ जिल्ला प्रहरी कार्यालयहरुले बिभिन्न पालिकाबाट एकमुष्ठ संकलित पत्र प्रदेश प्रहरी कार्यालयमा पठाउनेछन् ।

पत्रमार्फत् प्राप्त हुन आएका गुनासो, सुझावको उचित सम्बोधन र सुनुवाइ गर्ने उत्तरदायित्व बागमती प्रदेश प्रहरी कार्यालयको छ । प्रदेश कार्यालयमा रहने गुनासो तथा सुझाव व्यबस्थापन शाखाले संकलन भएका सुझाव तथा गुनासाउपर छानबिन गरी आबश्यक कारबाही अघि बढाउँछ ।

प्रत्येक प्रदेश तथा जिल्लास्तरका प्रहरी कार्यालयहरुमा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गुनासो तथा सुझाव संकलन तथा व्यबस्थापन शाखा छ । शाखाले तालुक कार्यालयहरु तथा अन्य बिभिन्न स्रोतमार्फत् प्राप्त सुझाव तथा गुनासोको उचित कारबाही एवम् व्यबस्थापन कार्य गर्ने प्रनि थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्