प्रादेशीक संरचना खारेज नगरिए कालान्तरमा संघीयताले देश नै खारेज गर्छ : चित्रबहादुर केसी



यमलाल भुसाल, बुटवल ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा संघीयता असफल सिद्व भैसकेको बताउंदै समयमा नै प्रादेशीक संरचना खारेज नगरिए कालान्तरमा संघीयताले देश नै खारेज गर्न सक्ने बताउनुभयो । उहाँले नेपाल चलाउने सांचो देश वाहिरै रहेको बताउनु भएको छ ।

शक्ति र सत्तामा पुग्नका लागि भारतीय शासकहरुलाई खुशी पार्ने परम्परा कायमै रहेकाले यसका बिरुद्व जनतालाई सचेत गराउनु पर्ने उहाँले बताउनुभयो । गण्तन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा, संघीयता र भ्रष्टाचारको बिरोधमा बिहिबार बुटवलमा आयोजित सभामा बोल्दै अध्यक्ष केसीले दक्षिण तिरबाट नेपालको भूगोलमाथि आक्रमण भैरहेको दावी गर्नुभयो ।

उहांले नेपाली जनताले लामो समयसम्म कुरवानी गरेर ल्याएको गणतन्त्रको रक्षा गर्नुपर्ने उल्लेख गर्दै सत्तापक्ष र प्रतिपक्षले गणतन्त्रको दुरुपयोग गरेको आरोप लगाउनुभयो । उहांले सत्तापक्ष र प्रतिपक्षबाटै प्रतिगमनको खतरा रहेकोसमेत बताउनुभयो । छिमेकीले नेपालमा हिन्दुराज्य कायम गराउन खोज्दा पनि सत्तापक्ष र प्रतिपक्ष मौन रहेकाले सत्ता पक्ष र प्रतिपक्षबाट पनि प्रतिगमनको खतरा रहेको अध्यक्ष केसीको तर्क रहेको छ ।

अहिलेको पूँजीवादी गणतन्त्र सबै नभएको र जनताको गणतन्त्र आउन बांकी रहेको उल्लेख गर्दै जनताले चाहेको गणतन्त्र ल्याउन परिवर्तनका उपलब्धीहरुको रक्षा गर्नुपर्ने बताउनुभयो । गणतन्त्रको विकल्प राजतन्त्रको कल्पना पनि गर्न नसकिने बताउंदै हिजो राजाबाट फाइदा ल्याएकाहरु आज सडकमा नारा लगाउंदैमा राजतन्त्र फर्कन सम्भव छैन भन्नुभयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केसीले राजावादी र अन्य प्रतिगामीहरुबाट गणतन्त्र, धर्म निरपेक्षतामाथि खतरा रहेकाले सचेत हुनुपर्नेमा जोड दिनुभयो । नेपाललाई हिन्दु राज्य बनाउने षडयन्त्र भैरहेकाले जनतालाई सचेत बनाउनु पर्ने र गणतन्त्रबादी शक्ति एक ठाउंमा उभिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

सत्तापक्षले सत्ता र शक्तिको दुरुपयोग गरेर भ्रष्टाचार गर्दापनि प्रपिपक्ष बोल्न नसकेको बताउंदै भ्रष्टाचारमा सत्तापक्ष र प्रतिपक्षको तालमेल रहेको दावी गर्नुभयो । उहांले नेपालमा संघीयता असफल सिद्व भैसकेको बताउंदै समयमा नै प्रादेशीक संरचना खारेज नगरिए कालान्तरमा संघीयताले देश नै खारेज गर्न सक्ने बताउनुभयो ।

उहाँले भ्रष्टाचार, अनियमितता,महङी, कालोबजारी, तस्करीले सीमा नाघेको उल्लेख गर्दै हिजो चप्पल लगाएर काठमाण्डौ गएका नेताहरुका कसरी बने करोडौंका महल र सम्पति अब छानविन गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षता, रुकबहादुर पराजुलीको स्वागत र सचिव टानबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्