बिग बास खेल्न सन्दीप अष्ट्रेलिया जाने तयारीमा



काठमाडौँ ।नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग ९बिबिएल० खेल्न अर्को साता अष्ट्रेलिया जानुहुने भएको छ । तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहनुभएका लामिछाने आगामी मङ्गलबार कतार एयरवेजबाट अष्ट्रेलिया प्रस्थान गर्नुहुनेछ ।

अष्ट्रेलिया पुगेपछि लामिछाने १४ दिन क्वारेन्टिनमा बस्नुहुने उहाँका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिनुभयो । यसपटक लामिछाने होबार्ट हुरिकन्सबाट बिग बास खेल्ने तयारीमा हुनुहुन्छ । यसअघि उहाँले लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बिग बास खेल्नुभएको थियो । दशौँ संस्करणको बिग बास लिग आजदेखि शुरु भएको छ । आज सम्पन्न पहिलो खेलमा लामिछाने आबद्ध हुरिकन्सले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ ।

क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले केही खेल गुमाउनुपर्ने व्यवस्थापक शिवाकोटीले बताउनुभयो । उहाँले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिनुभएको थियो । यसअघि लामिछानेले गत साउनमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नुभएको थियो ।

ट्रिनिडाड एण्ड टोबागोमा भएको सिपिएलमा उहाँले जमैका तलाबाजमा आबद्ध भई ११ खेलमा १२ विकेट लिनुभएको थियो । सिपिएलपछि उहाँ युनाइटेड अरब इमिरेट्समा सञ्चालन भएको इन्डियन प्रिमियर लिय (आइपिएल)मा सहभागी हुनुभयो । दिल्ली क्यापिटल्समा आबद्ध लामिछानेले यसपटक आइपिएलमा कुनै पनि खेल खेल्न अवसर पाउनुभएन ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित हुनुभयो । हाल उहाँ कोरोनाबाट मुक्त अवस्थामा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्