कोभिड-१९ विरुद्धको संघर्षमा गेट्स फाउन्डेसनले थप २५ करोड डलर दिने घोषणा



न्यूयोर्क ।

अमेरिकाको सियाटलमा मुख्यालय रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोभिड–१९ सँग सम्बन्धित अनुसन्धान तथा कोभिड–१९ खोपको परीक्षण, उपचार र खोपको समान वितरणका लागि थप २५ करोड डलर उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ ।

सन् २०२१ मा सबैका लागि कोभिड–१९ सँग सम्बन्धित वैज्ञानिक नवीन खोजमा पहुँच उपलब्ध गराउन पनि सबैसँग फाउन्डेसनले आह्वान गरेको छ ।

फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा सन् २०२१ मा विश्वको अवस्थामा व्यापक सुधार हुने अपेक्षा पनि गरिएको छ । फाउन्डेसनकी सह–अध्यक्ष मेलिन्डा गेट्सले विश्वका सबै ठाउँका धनी गरिब सबै किसिमका मानिसले कोभिड–१९ को खोप सहज र सुलभ रुपमा प्राप्त गरेको सुनिश्चित गर्न विश्वका नेताहरुले विशेष रुपमा ध्यान दिने विश्वास पनि व्यक्त गर्नु भएको छ ।

फाउन्डेसनले कोभिड–१९ को खोपलाई सस्तोमा सबै क्षेत्रमा खासगरी न्यून आय भएका मुलुकहरुमा उपलब्ध गराउन घोषित रकमको उपयोग गरिने पनि जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “अहिले हामीसँग यस वर्षको शुरुमा अपेक्षा गरिएको भन्दा खोपहरुको विकास निकै तिब्र गतिमा भएको छ । तर यी नवीन खोज सबैको पहुँचमा उपलब्ध भएमा मात्र त्यसले सार्थक नतिजा दिन सक्दछ ।”

कोभिड–१९ विरुद्धको संघर्षमा विश्वका धनाढ्य बिल गेट्सको अगुवाईमा स्थापित गेट्स फाउन्डेसनबाट भएको कूल प्रतिबद्धता १ खर्ब ७५ अर्ब डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्