मृत्यु पछि सार्वजनिक भयो अभिनेत्री दिव्याको भावुक नोट



भारतकी चर्चित टिभी अभिनेत्री दिव्या भटनागरको निधन भइसकेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण अभिनेत्री दिव्याले मुम्बईको एक अस्पतालमा अन्तिम श्वास लिइन् ।

दिव्याको मृत्यु भएको खबर बाहिरिएसँगै उनका व्यक्तिगत जीवनसँग जोडिएका केही ‘रहस्य’ पनि भारतीय सञ्चारमाध्यमहरुमा ‘सार्वजनिक’ भइरहेका छन् । खास गरेर उनको दाम्पत्य जीवनसँग जोडिएका कुराहरु अहिले भारतीय सञ्चारमाध्यममा समाचारको रुपमा प्रकाशन–प्रसारण भइरहेका छन् ।

यसबीच दिव्याकी साथी देवोलीना भट्टाचर्जीको एक भिडियो पनि सार्वजनिक भएको छ । जसमा उनले दिव्याका पति गगन गबरुमाथि केही आरोप लगाएकी छन् ।

दिव्याका भाइ देवाशीषको बयान पनि सार्वजनिक भएको छ । गगन र दिव्याको सम्बन्धलाई लिएर देवाशीषले नयाँ ‘खुलासा’ गरेका छन् । देवाशीषका अनुसार उनलाई दिब्याको दराजबाट एउटा नोट (पत्र) मिलेको थियो । दिव्याको ह्यान्डराइटिङ भएको उक्त पत्रमा लेखिएको छ कि पति गगन दिव्यालाई टर्चर गर्थे ।

दिव्याको नोटका बारेमा कुरा गर्दै देवाशीषले भनेका छन् कि विवाहको केही समय पछि नै गगन दिव्यामाथि शारीरिक तथा मानसिक रुपमा प्रताडित गर्थे । देवाशीषका अनुसार दिव्याले उक्त नोट यही वर्षको नोभेम्बर महिनाको ७ तारिखमा लेखेकी थिइन् । जसमा भनिएका छ कि गगनले उनीमाथि कुटपिट समेत गर्थे ।

देवाशीषले भनेका छन्, ‘केही दिन अगाडि मात्रै दिव्याको दराजबाट यो नोट फेला परेको थियो । घरेलु हिंसा भएपछि दिव्याले प्रहरीको पनि मद्दत लिएकी थिइन । १६ नोभेम्बरमा गगनविरुद्ध एनसी फाइल पनि गरिएको थियो । अस्पतालमा जब दिव्यासँग मेरो कुराकानी भएको थियो, त्यतिबेला मै उनलाई हौसला नहार्न भनेको थिए ।’

दिव्याकी आमाले पनि उनी विवाहबाट खुसी नभएको बताएकी थिइन् । दिव्या र गगनबीच विवाहको केही समय पछि नै विवाद शुरु भएको थियो । दिव्या केही समयदेखि आफ्ना पतिभन्दा अलग नै बस्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्