पेयजल सुरक्षाका निमित्त सूचना, सञ्चार र प्रविधिबारे छलफल गरिदै



काठमाडौं ।

पेयजल सुरक्षाका सम्बन्धमा भैरहेको अन्तराष्ट्रिय वेबिनारमा आज पेयजल सुरक्षामा सूचना,सञ्चार र प्रविधिका बारेमा छलफल हुने भएको छ ।

वेबिनारका आयोजक स्मार्ट वास सोलुसन्स प्रा.लि.का अध्यक्ष ई.रामदीप साहका अनुसार आजका कार्यपत्रहरु नेपालको खानेपानी प्रणालीमा सुधारका लागि अत्यन्तै महत्वपूर्ण छन् । आज ड्रिम इञ्जिनियरिड.कोरियाका उपाध्यक्ष डा.जु ह्वान किमले स्मार्ट वाटर ग्रिड वाटर सप्लाईका बारेमा कोरियाको अनुभवमा आधारित कार्यपत्र प्रस्तुत गर्नुहुने छ ।

त्यस्तै इचोन नेशनल युनिभर्सिटीका प्राध्यापक योड. सिक होड.ले पानी सुरक्षणमा सूचना,सञ्चार र प्रविधिको उपयोगको बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
वेबिनारको तेस्रो शत्रमा नेपालको शहरहरुमा स्मार्ट वाटर म्यानेजमेण्टका बारेमा स्मार्ट वास सोेलुसन्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत ई.हरिप्रसाद शर्माले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

बुधबार जलवायु परिवर्तन र यसले जल सुरक्षामा पारेको असरका बारेमा पाँच वटा कार्यपत्र प्रस्तुत भएका थिए ।

बुधबार  सेजोड. विश्वविद्यालयका प्रा.ह्यून हान क्वानले जलवायु परिवर्तन अध्ययनमा हालैका न्यूनतम् तथ्यांकीय शैली विश्लेषणमा भएको उन्नति, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. मनिष पोखरेलले जलवायु परिवर्तन र स्मार्ट वाटर म्यानेजमेण्टमा स्मार्ट प्रविधिको उपयोगसम्बन्धी, हर्विन इन्स्टिच्युट टेक्नोलोजीका पीएचडी स्कलर मनित थापाले केन्द्रीय हिमालयहरुका जलवायु परिवर्तन र पानीको उपलब्धता,त्रिभुवन विश्वविद्यालयको केन्द्रिय वातावरण विज्ञान विभागकी डा. इन्दिरा पराजुलीले नेपालका विद्यालयहरुमा बर्षातको पानी संकलनमा स्मार्ट वास  बिषयक र वाटर एडका खानेपानी,सरसफाई र स्वच्छता विज्ञ इञ्जिनियर कविन्द्र पुडासैनीले पानीको अभाव र सामुदायिक वास रिजिलेन्समा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपालका पानीका स्रोतहरुको संरक्षण, पानीको संरक्षण र बहुउद्देश्यीय किफायती उपयोग गर्नका लागि स्मार्ट प्रविधि अवलम्बन गर्ने, स्मार्ट म्यानेजमेण्ट पद्धति अबलम्बन गर्ने तथा वर्तमान र भावि पुस्ताका लागि खानेपानी सुरक्षाको सहज अवस्था सिर्जना गर्ने उद्देश्यले स्मार्ट वास सोलुसन्स प्रा.लि र कोरियाको इन्टरनेशनल सेन्टर फर अर्वन वाटर हाइड्रो इन्फरमेटिक्स(आइसीएचयू) को संयुक्त आयोजना तथा  जल सुरक्षा दीगो व्यवस्थापनका लागि यूनेस्कोको अन्तर्राष्ट्रिय केन्द्र र स्मार्ट वाटर ग्रिड समाजको आतिथ्यमा यही मंसिर २३ देखि २६ गतेसम्म  भविष्यका लागि जल सुरक्षा मञ्च २०२० विषयक चार दिवसीय अन्तराष्ट्रिय वेबिनार आयोजना भैरहेको छ ।

वेबिनारमा प्रस्तुत कार्यपत्र तथा विज्ञहरुका विचारहरु नेपालका तीनै तहका सरकारका जिम्मेवार पदाधिकारी, नीति निर्माता, योजनाविद्, विधायक, स्थानीय तहका पदाधिकारीहरु, उपभोक्ता समूह, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि तथा आम उपभोक्ता समक्ष पुर्याई नेपाललाई जल सुरक्षा पर्याप्त भएको मुलुकका रुपमा राख्न र नेपाली नागरिकलाई पर्याप्त स्वच्छ, सफा र गुणस्तरीय पानीका माध्यमबाट स्वस्थ्य र दीर्घजीवि राख्न सघाउने आयोजकहरुको विश्वास छ।

नेपाली जनतालाई खानेपानी र पानीजन्य सरसफाईको बारेमा जानकारी दिने, स्वच्छ खानेपानीका प्राकृतिक स्रोतहरुको संरक्षण गर्ने, जलवायु परिवर्तनका प्रतिकूल असरलाई न्यूनिकरण गर्ने, जल सुरक्षा कायम राख्ने, आम नेपालीलाई पर्याप्त मात्रामा गुणस्तरीय खानेपानी र घरायसी प्रयोगको पानी पुर्याउने,उपभोक्तालाई सहज सेवा पुर्याउन अत्याधुनिक प्रविधिको उपयोग गराउने र उपयोग गरिएको पानी तथा दिसापिसाबजन्य फोहर मैलाको समुचित विसर्जन तथा प्रशोधन गरी देशलाई स्वच्छ राख्दै आम नागरिकलाई रोगमुक्त राख्ने अभिप्रायले स्थापित स्मार्ट वास सोलुसन्सले नेपालका नीति निर्माता, संबन्धित क्षेत्रका विज्ञ, प्राज्ञ,अनुसन्धानकर्ता तथा वैज्ञानिक, अभ्यासकर्ता र आम उपभोक्ता नेपालीहरुलाई एकै स्थानमा ल्याएर खानेपानी र ढल प्रशोधनका विषयमा निकै उपलब्धिमूलक गोष्ठिहरु सम्पन्न गर्दै आएको छ ।

प्राण घातक कोरोना भाइरसको महामारी विश्वभर फैलिएर त्यसलाई रोक्न सरकारले लकडाउन घोषणा गरेपछि यसले आम नेपालीलाई हात धुने बानी सिकाउन र घरघरमा स्वच्छ पानी उपयोगलाई प्रबर्धन गराउन प्रदेशस्तरीय स्थानीय निकायका प्रतिनिधिहरुलाई यसबारेमा जानकारी दिने महत्वपूर्ण कार्य गरेको थियो ।

त्यसले क्वारेन्टाइन तथा आइसोलेसन केन्द्रहरुमा खानेपानीको गुणस्तर कायम गर्न, पर्याप्त खानेपानीको व्यवस्था गर्न तथा शौचालयको सरसफाई व्यवस्थापनमा स्थानीय निकायहरुको क्षमता अभिबृद्धि गर्न निकै सघाएका संस्थाको दावी छ । सो अवधिमा स्मार्ट वासले उपभोक्ताहरुलाई स्वास्थ्य र सफाई विज्ञ तथा वैज्ञानिकहरुसंग जुम मिटिड।का माध्यमबाट साक्षात्कार गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्