पोखराकै उच्च फुटबल मैदानको प्रतिवेदन (डीपीआर) तयार



विजय नेपाली, पोखरा

कास्की जिल्ला फुटबल संघको पहलमा पोखरा–२० आटिघरमा पोखराकै उच्च (हाईअल्टिच्युट) फुटबल मैदान निर्माणको लागि प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

पोखरा महानगरपालिकाले हाईअल्टिच्युट मैदानको लागि प्रतिवेदन (डीपीआर) तयार गरेको हो । महानगरले मैदान निमार्णको लागि ५० लाख रुपैयाँ छुट्याएको छ । डीपीआर तयार भएपछि मैदान बन्ने पक्का भएको छ ।

‘संघको पहलमा महानगरले मैदानको डीपीआर तयार पारेको छ । यसमा महानगर प्रमुख मेयर मानबहादुर जीसी र वडा २० का वडाध्यक्ष सिम गुरुङको सहयोगमा मैदान बन्ने भएको हो’ कास्की जिल्ला फुटबल संघ (एन्फा कास्की) अध्यक्ष मिलन गुरुङले भने ।

यसमा गाउँवासीको समेत सहयोग मिलेको भन्दै अध्यक्ष मिलनले मैदान बनाउँदा पोखरालाई मात्र नभई कास्की जिल्लालाई नै फाइदा हुने बताए ।

हाईअल्टिच्युट मैदान निर्माणले खेलाडीको खेल स्तरमा समेत वृद्धि हुने भन्दै उनले भने –‘खेलाडीको लागि हाइअल्टिच्युट मैदान महत्वपूर्ण हुन्छ । हामीले कास्कीबाट राष्ट्रिय खेलाडी उत्पादनमा उत्कृष्ट नतिजा ल्याउने लक्ष्य लिएका छौं’

समुद्री सतहदेखि करिब १७ सय मिटरको उचाइमा रहेको उक्त स्थानमा मैदान निर्माणको लागि स्थानीयको समेत साथ मिलेको छ ।

आफ्नो क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको मैदान निर्माणले खेलकुदको साथसाथै गाउँको समेत विकास हुने हुँदा स्थानीयहरूले भने उक्त कार्यलाई स्वागत गरेका छन् ।

कास्की जिल्ला फुटबल संघको पहलमा मैदान निर्माण हुने भएको हो जसका लागि महानगरले आर्थिक वर्षमा ५० लाख रुपैयाँसमेत छुट्याइएको छ ।

योबाहेक सो क्षेत्रमा साढे ८ लाखको काम भइसकेको छ । सो रकमले मैदानसम्म पुग्ने बाटो सम्याउनेलगायत काम सम्पन्न भइसकेको छ ।

करिब एक सय ५० रोपनी रहेको जग्गामा प्राकृतिक प्याराफिटसहितको अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान बन्नेछ । खेलकुदका साथसाथै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास छ ।

पोखरामा अहिले फुटबल मैदान निर्माणको लर्कोसमेत चलेको छ । फुटबल खेलको विकासको लागि पूर्वाधारहरू निमार्ण हुँदा आगामी दिनमा पोखराले व्यापकरूपमा खेलाडी उत्पादन तथा प्रतियोगिताहरू हुने देखिन्छ ।

मैदान अभावका कारण पोखरामा सेभेन ए साइड फुटबल प्रतियोगिताहरू सञ्चालन हुँदै आएका छन् । पोखराको फुटबललाई अहिलेसम्म सेभेन ए साइडले नै धानेको छ ।

एन्फाले ग्रास रुट लेभलदेखि फुटबल सञ्चालन शुरू गरिरहेको छ । पोखरामा भने यसअघि मैदानको कमी थियो । अहिले पोखरा रंगशालास्थित प्याराफिटसहितको फुटबल मैदानसमेत अन्तर्राष्ट्रिय मापदण्डका पाँच मैदान रहेका छन् ।

मैदान निर्माणपछि विभिन्न उमेर समूहका राष्ट्रिय टिमको प्रशिक्षणसमेत गराउन सकिनेछ । करिब १२–१६ करोड लाग्ने अध्यक्ष गुरुङले बताए । चैत्र अन्तिमसम्ममा मैदान सम्याउने र खेल्न योग्य बनाउने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्