युभेन्ट्सद्वारा बार्सिलोना सहजै पराजित



लन्डन, (एजेन्सी)

यूईएफए च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा युभेन्ट्सले बार्सिलोनालाई सहजै पराजित गरेको छ ।

बार्सिलोनाको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा युभेन्ट्सले लियोनल मेस्सीसहितको बार्सिलोनामाथि ३–० फराकिलो गोलअन्तरको जित निकाल्यो । उक्त जितसँगै युभेन्ट्स समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो । टिमको जितमा अर्को एक गोल भने वेस्टोन म्याकेनीले गरेका थिए ।

उक्त खेलमा रोनाल्डोले दुवै गोल पेनाल्टीमार्फत गरेका थिए । योसँगै च्याम्पियन्स लिगमा रोनाल्डोको गोल संख्या १ सय ३४ पुगेको छ । खेलको १२औं मिनेटमा बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरौजोले रोनाल्डोलाई डीबक्सभित्र फाउल गरेपछि युभेन्ट्सले पेनाल्टीको अवसर प्राप्त गरेको थियो, जसलाई रोनाल्डोले गोलमा परिणत गर्दै शुुरूवाती अग्रता दिलाए । खेलको २०औं मिनेटमा टिमको अग्रतालाई दोब्बर भयो, जब म्याकेनीले किक प्रहार गर्दै उत्कृष्ट गोल गरे ।

त्यसपछि दोस्रो हाफमा क्लिमेन्ट लेङलेटले ह्यान्ड गरेपछि पाएको अर्काे पेनाल्टीमा पनि रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । योसँगै च्याम्पियन्स लिगमा सन् २०१६ यता बार्सिलोनाले समूह चरणमा पहिलो हारसमेत व्यहो¥यो । सो नतिजासँगै समूह ‘जी’ को शीर्षमा उक्लिएको युभेन्ट्सको ६ खेलमा १५ अंक हुँदा हारको सामना गरेको बार्सिलोना समान अंक भए पनि गोल भिन्नताको आधारमा दोस्रो स्थानमा धकेलिएको हो । यी दुवै टिम यसअघि नै पहिल्यै नकआउट चरणमा पुगिसकेका छन् ।

चेल्सी बराबरीमा
च्याम्पियन्स लिगकै अर्को खेलमा चेल्सी र रुसी टिम एफसी क्रास्नोडारले १–१ बराबरी खेलेका छन् । इंग्लिस क्लब चेल्सीले आफ्नो घरेलु मैदानमा बराबरी खेल्दै अंक बाँडेको हो । क्रास्नोडारका लागि सुरुवाती अग्रता दिलाउन रेबेला काबिलाले खेलको २४औं मिनेटमा गोल गरेका थिए । त्यसको चार मिनेटपछि नै चेल्सीका जोर्गिन्होले पेनाल्टीमार्फत गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

समूहचरणको अन्तिम खेल बराबरी खेले पनि चेल्सीले समूह ‘ई’ को शीर्ष स्थान कब्जा गर्न सफल रह्यो । चेल्सी यो खेलअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको थियो । समूह ‘ई’ को शीर्षस्थान ओगटेको चेल्सीले ६ खेलमा ४ जित र दुई बराबरीको नतिजासहित १६ अंक जोडेको छ ।

त्यस्तै, सोही समूहमा रहेको सेभिया पनि समूहको दोस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न खेलमा रेनेसलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेभिया प्री–क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो । यस समूहको उपविजेता बन्दै अर्को चरणमा पुगेको सेभियाले ६ खेलमा ४ जित र एक हारको सामना गरेको थियो ।

डर्टमन्ड समूह विजेता
रसियन क्लब जेनिट सेन्ट पिटर्सबर्गलाई हराउँदै जर्मन क्लब बोरुसिया डर्टमन्ड समूह एफको विजेता बनेको छ । बोरुसिया डर्टमन्डका युसुफा मुकोको च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेको उक्त खेलमा सेन्ट पिटर्सबर्ग २–१ को गोलअन्तरले पराजित भएको हो । पिटर्सबर्गको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा १६ वर्ष १८ दिनको उमेरमा डर्टमन्डका स्ट्राइकर मुकोको खेलको दोस्रो हाफमा मैदानमा उत्रेका थिए ।

खेलको १६औँ मिनेटमा सेबास्टियन ड्रिउसीको गोलमा पिटर्सबर्गले पहिलो हाफमा डर्टमन्डमाथि १–० को अग्रता बनाएको थियो । त्यसपछि दोस्रो हाफमा डर्टमन्डले खेलमा पुनरागमन गरेको थियो । खेलको ६८औं मिनेटमा लुकाज पिस्जेकले गोल गर्दै डर्टमन्डलाई खेलमा फर्काए । त्यसपछि ७८औं मिनेटमा जेडोन सान्चोको असिस्टमा एक्सेल विट्सेलले गोल गर्दै खेलमा डर्टमन्डलाई २–१ को जित सुनिश्चित गराए ।

जितसँगै डर्टमन्ड समूह ‘एफ’को शीर्षमा रहँदै प्री–क्वार्टरफाइनलमा खेल्नेछ । त्यस्तै, अर्काे खेलमा १० खेलाडीमा सीमित बनेको ब्रुगेससँग २–२ गोलको बराबरी खेल्दैे लाजियो पनि समूह ‘एफ’को दोस्रो स्थानमा रहँदै प्री–क्वार्टरफाइनलका लागि छनोट भयो ।

म्यानचेस्टर युनाइटेड बाहिरियो
जर्मन क्लब आरबी लेइप्जिगसँग हार बेहोर्दै इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड भने च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । आरबी लेइप्जिगले म्यानचेस्टर युनाइटेडलाई ३–२ गोलको अन्तरले हराएको हो ।

लेइप्जिगको घरेलु मैदानमा मंगलबार सम्पन्न खेलमा युनाइटेडलाई च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्न बराबरी नतिजा पनि पर्याप्त थियो । तर, खेलको सुरुवाती १३ मिनेटभित्र दुई गोल बेहोरेपछि म्यानचेस्टर युनाइटेडले हारको सामना गर्नुप¥यो ।

प्रतिस्पर्धात्मक बनेको उक्त खेलको पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल भएको थियो । खेलको दोस्रो मिनेटमा नै एंगेलिनोले गोल गर्दै लेइप्जिगलाई शुरूवाती अग्रता दिलाएका थिए । त्यस्तै, म्यानचेस्टर सिटीबाट लोनमा लेइप्जिग पुगेका एेंगेलिनोले १३औं मिनटमा हाईदारालाई सटिक पास दिएपछि लेइप्जिगले आफ्नो अग्रतालाई दोब्बर बनायो ।

पहिलो हाफमा २–० ले पछि परेको युनाइटेडले ६९औं मिनेटमा तेस्रो गोल बेहो¥यो । लेइप्जिगका क्लुइभर्टले गोल गर्दै टोलीको अग्रतालाई ३–० मा पु¥याए । अन्तिम १६ मा पुग्न मात्र बराबरी नतिजा चाहिएको अवस्थामा लेइप्जिगको सो गोल युनाइटेडका लागि निकै घातक बन्यो ।

युनाइटेडले खेलको ८०औं मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्कायो । त्यसको दुई मिनेटपछि नै युनाइटेडले एक आत्मघाती गोल उपहार पाए पनि तेस्रो गोल भने फर्काउन सकेन । जसका कारण युनाइटेडको यस सिजनको च्याम्पियन्स लिग यात्रा समूह चरणमै टुंगियो ।

युनाइटेडले यस सिजनको च्याम्पियन्स लिग समूह ‘एच’ मा रहँदै तेस्रो स्थानमा सक्काएको छ । यो नतिजापछि युनाइटेड युरोपा लिगमा झरेको छ । युनाइटेडले २०१७ मा युरोपा लिग जितेको थियो । लेइप्जिग भने च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । यसअघिको सिजनमा लेइप्जिग सेमिफाइनलसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्