मनकामना केबुलकार सञ्चालनमा आउने



काठमाडौं, (नेस)

कोभिड–१९ का कारण बन्द रहेको मनकामना केबुलकार आउँदो मंसिर २८ गते आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको स्थानीय तहसहितको सरोकारवालाको बैठकको निर्णयअनुसार मनकामना मन्दिर र बजार खोल्ने जानकारी भएपश्चात् मनकामना केबुलकार पनि एकै साथ सञ्चालनमा आउन लागेको हो ।

स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार पालना गर्दै स्वास्थ्य सुरक्षाको कडा नियमहरु अपनाउँंदै केबुलकार सेवा सञ्चालनमा आउन लागेको हो ।

जसअन्तर्गत केबुलकारको दुवै स्टेशनमा यात्रुहरुको ज्वरो मापन गरिने छ, १०० डिग्रीभन्दा माथि ज्वरो भएका र रुघाखोकी लक्षण देखिएका यात्रुलाई प्रवेश दिइने छैन । केबुलकार प्रवेश गर्दा अनिवार्य रुपमा माक्स लगाउनुपर्ने छ र हात सेनिटाइज गर्नुपर्नेछ । यात्रुले लाइनमा बस्दा अनिवार्य रुपमा भौतिक दुरी कायम गर्न लगाइएको चिन्ह अंकित घेरामा लामबद्ध भई बस्नु पर्नेछ ।

केबुलकार हाताभित्र प्रवेश गर्दा स्वचालित हेण्ड सेनिटाइजर वा साबुन पानीले हात धुनुपर्नेछ । स्टेशन हाताभित्र भिडभाड नगर्ने तथा पिकनिक र वनभोजलाई अस्थाई रुपमा बन्द गरिएको छ । केबुलकार सेवा क्षमताको ५० प्रतिशत (प्रतिघण्टा ३३० जना) यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतः प्रवेश बन्द गरिने हुँदा यात्रुले सोहीअनुसार आप्नो यात्रा तय गर्नुपर्नेछ । बली दिने प्रयोजनको लागि पशुपन्छी ढुवानी गर्ने सेवा अस्थाई रुपमा बन्द गरिएको छ ।

संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता सेवा प्रदायक कम्पनीसंग सम्झौता गरी सकेको हुँदा यात्रुले केबुलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्ने छन् । त्यसैगरी, आप्नो जनशक्तिलाई फेस सिल्ड, माक्स लगायतको स्वास्थ्य सुरक्षाको समेत प्रबन्ध गरेको छ ।

केबुलकार सेवा सामान्यतया बिहान ९ बजेदेखि सांँझ ५ बजेसम्म मात्र सञ्चालनमा आउने छ । साथै, केबुलकार र परिसरलाई दैनिक रुपमा डिसइन्फेक्सन समेत गरिने छ । त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी पुस ३ गते शुक्रबारदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्