राष्ट्रिय गौरवको योजनाका नाममा अवैध धन्दा



विजय नेपाली, पोखरा

पोखरामा दुई राष्ट्रिय गौरवको योजनाको नाममा क्रसर उद्योगले अवैध धन्दा सञ्चालन गरेका छन् । निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रिय पुनर्निर्माणअन्तर्गतको मणिलाल सडक (हेम्जा, खानेपानी मुहान, लुम्रे, सिदिङ) योजनाका लागि भन्दै सञ्चालन गरिएको क्रसर मापदण्डविपरीत स्थापना भएका मात्र छैनन् अवैधरुपमा नदीजन्य सामग्री निकासी गर्दै आएका छन् ।

पोखरा महानगरपालिका–१४ चाउथेस्थित भौंसीतरा कन्ट्राक प्रालिको नामबाट सञ्चालित क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भएको छ । राष्ट्रिय गौरवको योजना निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलका लागि मात्र सामान निकाल्ने भनेर उक्त क्रसर सञ्चालनमा ल्याउन स्थानीय निकायले स्वीकृत दिएको थियो । सो क्रसर उद्योगले मापदण्डविपरीत अवैध ढंगले गिटी बालुवा अन्यत्रसमेत बिक्रीवितरण गर्दै आएको छ ।

पोखराको मोर्डनाइज स्कुलनजिकै रहेको रोयल्स विल्डर्स प्रालिको डिपोमा उक्त क्रसरबाट उत्पादन भएको सामान बिक्री हुँदै आएको छ । क्रसरबाट दैनिकजसो ५–६ वटा ट्रिपरले डिपोमा सामान ल्याएर छाड्ने गरेका छन् ।
यसअघि उक्त क्रसर मापदण्डविपरीत सञ्चालन भएको भन्दै पटकपटक बन्द गरिएको थियो । यस्तै माछापुच्छ«्रे गाउँपालिका–४ समीबगरस्थित हेमदुङ्ग कन्ट्रक्सनको नाममा क्रसर उद्योग सञ्चालनमा रहेको छ । राष्ट्रिय पुनर्निर्माण योजनाअन्तर्गतको सडक निर्माणका लागि उक्त क्रसर सञ्चालनमा ल्याइएको थियो । उक्त क्रसरले सडक निर्माणको नाममा अन्यत्र सामान बेच्ने गरेको पाइएको छ ।

माछापुच्छे« गाउँपालिकाले अस्थायीरुपमा सञ्चालन गर्न अनुमति दिएको थियो । राष्ट्रिय पुनर्निर्माणअन्तर्गत निर्माणका लागि अनुमति दिए पनि बाहिर लगेर सामान बेच्ने गरेको स्थानीयले आरोप लगाएका छन् । सामान क्रसरबाट बाहिर ल्याउँदै गर्दा सिम्पानीनजिकै रहेको जौबारीमा प्रहरीले पक्राउ गरेको थियो । तर गाउँपालिकाका अध्यक्षले नै जरिवाना लिएको तोक लगाएर पठाएपछि प्रहरीले उक्त सामान छाडिदिएको थियो ।
कास्कीका अधिकांश क्रसर मापदण्डविपरीत रहेको जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले बताउनुभयो ।

सडक नबन्ने त्रासले गाउँले चुप
हेम्जा, खानेपानी मुहान, लुम्रे, सिदिङ (मणिलाल सडक) सडक नबन्ने चिन्ताले क्रसर कमाउने धन्दामा लाग्दा समेत जनता चुप लाएर बसेका छन् । सडकको काममा ढिलासुस्ती भएपछि स्थानीले अब धन्दा बन्द गर्न चेतावनी दिएका छन् ।

स्थानीय राम गुरुङले खानेपानी मुहानमा मापदण्डविपरीत सञ्चालनमा रहेको क्रसरले पोखरा ल्याएर सामान बेचेको बताउनुभयो । सामान बेच्नकै लागि आयोजनाको काम भने ढिलो गरी गरेको उहाँले बताउनुभयो ।
हेमदुङ ड्राइगन जेभी नामक कम्पनीले माछापुच्छे« एग्रिगेट प्रालि भन्दै दर्ता गरे पनि बाहिर भने बीबीआई कन्ट्रक्सन प्रालिको नामबाट सामान बेच्दै आएको छ । अनुगमन समितिलाई एउटा नामको दर्ता देखाउने गरे पनि बाहिर भने अर्को नामबाट बेच्दै आएको पाइएको छ ।

जिल्ला समन्वय समितिले अनुगमनकै क्रममा बाहिर सामान बेचेको प्रत्यक्ष देखे पनि रोक्न भने सकेको छैन । राष्ट्रिय पुनर्निर्माण आयोजनाको नाममा यसअघि घूस दिएको आरोपमा पक्राउ परेका व्यवसायी ऋषि गौतमले बाहिर सामान बेच्न दिएका छन् ।

यस्तै स्थानीय दलबहादुर लामिछानेले बारम्बार सामान बाहिर लाने गरेको भेटे पनि आफ्नो गाउँको बाटो अलपत्र पर्ने डरले छाडेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्