अपराधीको संसर्गबाट टाढा रहन आईजीपीको आग्रह



नेपाल समाचारपत्र, बाँके ।

समग्र सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको काम कारबाहीलाई प्रत्यक्षरुपमा नियाल्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले लुम्बिनी प्रदेशका विभिन्न युनिटको जानकारी लिनुभएको छ ।रुपन्देही, कपिलवस्तु, बाँके र बर्दियामा नेपाल भारत सीमाक्षेत्रमा रहेका सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टसहित ती जिल्लामा रहेका गण र गुल्मको नजिकबाट नियाल्नुभएका आईजीपी खनालले अपराधरहित समाज निर्माण गर्न बलको महत्वपूर्ण भूमिका भएकाले अपराध र अपराधीहरुको संसर्गबाट टाढा नै रहन आग्रह गर्नुभएको थियो ।

सरकारले सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिएपछि कार्यक्षेत्रमा नै गएर उनीहरुको अवस्थाको जानकारी मात्र होइन, कार्यक्षेत्रमा खटिँदा आइपर्ने समस्याको बारेमा समेत उहाँले जानकारी लिनुभएको थियो ।स्थानीय निकायको समेत राम्रो सहयोग पाएको बलले भौतिक सुविधाबाट वञ्चित बनेका बीओपीहरुलाई सहयोग गर्ने क्रम बढेको आफ्नै आँखाले देख्न पाएकोमा खुसी व्यक्त गर्दै महानिरीक्षक खनालले राज्यले दिएको जिम्मेवारी कसरी बहन गरिँदै छ भनेर अहिले विभिन्न युनिटको निरीक्षणमा निस्केको जानकारीसमेत दिनुभयो ।

आफ्नै संगठन प्रमुखलाई भौतिकरुपमा नजिकबाट पहिलोचोटि देख्न पाएका जवान तथा बिल्लादारहरुले कार्य क्षेत्रमा खटिएर काम गर्न थप हौसला मिलेको बताए । ‘आईजीपी साप नै हामी कसरी बसेका छौं, काम कस्तो गरेका छौं भनेर अनकन्टार ठाउँमा समेत आएर हामीलाई जुन निर्देशन दिनुभएको छ, यसलाई हामी अक्षरशः पालना गर्ने छौं।’ –उनीहरुको भनाइ थियो ।

कोरोना संक्रमणका कारण कार्यक्षेत्रमा खटिने कुनै पनि आफ्ना कर्मचारीलाई कोरोना संक्रमण नहोस् र कोरोनाबाट बच्ने उपाय सिकाउन आईजीपी खनालले चिकित्सकको टोली पनि सँगै लैजानुभएको थियो । आफ्नो निर्देशनपछि चिकित्सकको टोलीले हरेक युनिटमा पुगेर कोरोना संक्रमणबाट बच्न जनचेतना दिनुका साथै युनिट–युनिटमा विभिन्न किसिमका औषधीसमेत वितरण गर्नुभएको थियो ।

‘तिमीहरु मेरा सन्तान हौ। तिमीहरुको अवस्था बुझ्न म यहाँ आएको छु। कुनै समस्या छ भने भन’ भन्दै उहाँले समस्या भए समाधान गर्न तयार भएको बताउनुभएको थियो ।अन्तरदेशीय अपराध नियन्त्रणमा कुनै सम्झौता गरेको भन्ने सूचना पाएँ भने म कसैलाई छोड्ने छैन भन्दै आईजीपी खनालले निर्देशन दिइरहँदा सीमाक्षेत्रमा खम्बाका रुपमा रहेका अधिकृत जवानहरुको अनुहारमा रौनकता छाएको थियो ।

६ वर्षदेखि सशस्त्र प्रहरी बलले खाँदै आएको रासनमा रकम वृद्धि नभएको गुनासोलाई सम्बोधन गर्न आफूले गृह मन्त्रालयमा कुरा गरिरहेको र रासनको पुनरावलोकन गर्न समिति बनेको उहाँले जानकारी दिनुभयो ।झन्डै एकहप्ते भ्रमणका क्रममा गण गुल्म र बीओपीको भौतिक स्थिति र खानपानको व्यवस्थाका बारेमा समेत कार्यस्थलमा नै पुगेर जानकारी लिनुभएका आईजीपी खनालले आफ्ना सन्तानलाई सबै सुविधा पु¥याउन आफ्नो कार्यकालमा लागिपर्ने नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको थियो ।

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलको बीओपीको भौतिक अवस्था कतै नाजुक थियो भने कतै स्थानीय निकायले भौतिक पूर्वाधारको व्यवस्था गरिदिएका कारण सुविधा सम्पन्न हिसाबले बसेका देखिन्थे ।सरकारले नेपाल–भारत, नेपाल–चीन सीमाक्षेत्रमा बीओपी स्थापनालाई जोड दिए पनि भौतिक पूर्वाधारलाई ध्यान दिन नसक्दा कतिपय ठाउँमा त्रिपालमा बीओपी सञ्चालन हुँदै आएका छन् । जाडो महिना शुरु भएसँगै सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका जवान तथा अधिकृतमा भौतिक पूर्वाधारको अभाव खड्किएको देखिन्थ्यो ।

आफ्नै संगठन प्रमुखले व्यक्ति व्यक्तिलाई भेटेर केही आफ्नो समस्या भए खुलेर राख्न निर्देशन दिएपछि कतिपय जवान तथा अधिकृतहरुले आफ्ना समस्या खुलेर राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्