लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान : म्याग्दीमा महिला हिंसा एवं स्त्री रोगसम्बन्धी विषयमा प्रशिक्षण



प्रताप बानियाँ, म्याग्दी ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर म्याग्दीमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेशको संयोजन र सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा जिल्लामा महिला हिंसाको अवस्था, भिडियो डकुमेन्ट्री प्रदर्शन र स्त्री रोगसम्बन्धी विषयमा प्रशिक्षण गरिएको हो ।

कार्यक्रममा महिला अधिकार मञ्च म्याग्दीका अध्यक्ष दिवाकुमारी पुनले म्याग्दी जिल्लामा महिला ंिहंसाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरी लमजुङ जिल्ला अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर हेमा छन्त्यालले महिलाको पाठेघर खस्ने समस्या, यसको असर, कारणहरु, लक्षण तथा उपचार विधिका विषयमा सहजीकरण गर्नुभयो । उहाँले महिलाहरुलाई रोग लुकाएर नबस्न आग्रह गर्दै समयमै स्वास्थ्य संस्थामा उपचार गर्न गएमा रोगबाट हुनसक्ने सम्भावित जोखिमलाई कम गर्न सकिने बताउनुभयो ।

त्यस्तै १ जनाले ५ जनाको ज्यान बचाउने अभियानका अभियन्ता डा. लक्ष्मी पन्थीले ‘यु क्यान सेभ फाइप लाइभ्स’सम्बन्धी विषयमा सहजीकरण गर्नुभयो । हातेमालो अभियान नेपालको अध्यक्ष समेत रहनुभएकी डा. पन्थीले मानिसको घाँटीमा खाना वा बाह्य वस्तु सर्किनु, हृदयघाट, बाह्य रक्तस्राव, बेहोस हुँदा तत्काल घटनास्थलमा कसरी बचाउन सकिन्छ भन्ने सिपको प्रयोगात्मक एवं सैद्धान्तिक विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले लैङ्गिक हिंसाको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले हिंसा भनेको आफूले नचाहेको कुरा अरुको व्यवहारबाट हुनु नै हिंसा भएको बताउनुभयो । ‘हिंसा अन्त्य गर्नका लागि हरेक व्यक्ति आफ्नो ठाउँमा जागरुक हुनुपर्छ र जानेको कुरा व्यवहारमा लागू गर्नुपर्छ ।’ मन्त्री पुनले भन्नुभयो, ‘हामी समाजको अगुवा व्यक्ति भएकाले आफूभन्दा तल रहेका व्यक्तिको उत्थान गर्नुपर्छ, आफूले सिकेको ज्ञान, सिप र व्यवहारबारे अरुलाई पनि सिकाउनुपर्छ ।’

मन्त्री पुनले सामाजिक विकास मन्त्रालयमार्फत चालु आर्थिक वर्षमा बालविवाह न्युनीकरण, लैङ्गिक हिंसाको अन्त्य, सामाजिक कुरितीको व्यवस्थापन गर्न प्रदेश भित्रका ८५ ओटै स्थानीय तहलाई लक्षित गरेर ८० लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिनुभयो । उहाँले बजेट छुट्याएर मात्रै नहुने भएकाले त्यसको पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्र विकासको पहिलो शर्त योग्य, दक्ष तथा अनुशासित नागरिक उत्पादन गर्नु भए पनि सबै क्षेत्रबाट भौतिक पूर्वाधार निर्माणको मात्रै बजेट माग हुने गरेको भन्दै मन्त्री पुनले सामाजिक विभेद अन्त्यसहित योग्य नागरिक बनाउन स्थानीय तह लाग्नुपर्ने बताउनुभयो । उहाँले सुत्केरी हुने अवस्थामा अत्यधिक रक्तस्रावका साथै कुनै पनि स्वास्थ्य समस्याबाट सबैलाई जोगाउनुपर्ने र महिलाको अवस्था बढी जटिल हुने हुनाले सबैले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री पुनले प्रदेशका सबै स्थानीय तहलाई मन्त्रालयले बालविवाह न्युनीकरण, लैङ्गिक हिंसा, सामाजिक कुरिती न्युनीकरणमा के, कस्तो बजेट, नीति तथा कार्यक्रमहरु रहेको विषयमा जानकारी माग गरिएको बताउनुभयो । महिला अधिकार मञ्चका अध्यक्ष पुनको अध्यक्षता, गैरसरकारी संस्था महासंघका अध्यक्ष दिपक पौडेलको स्वागत र कोषाध्यक्ष ज्योती लामिछानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले मन्तव्य राख्नुभएको थियो ।

लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति , समाज र सबैको एक्यबद्धता’ भन्ने राष्ट्रिय नारासहित सञ्चालित लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत महिला अधिकार मञ्च र गैसस म्याग्दीले कार्यक्रमको आयोजना गरेका थिए ।

कार्यक्रमको जिल्ला समन्वय समिति, मंगला र कालीगण्डकी आमा समूह, नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी, संगिनी एवं दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था, कदम, मिलन, संगम, पिस म्याग्दी र महिला मानवअधिकार रक्षक सञ्जालले सहकार्य गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्