एभिएमका टेटे खेलाडीका लागि पावेलको ३२ लाख सहयोग



न्युज अफ नेपाल, काठमाडौं ।

स्जिरल्याण्डका राष्ट्रिय प्रशिक्षक पावेल रेहोरेकले नेपालका टेवलटेनिस खेलाडीहरुका लागि नेपाली रुपियाँ ३२ लाख बराबरको सहयोग गर्ने भएका छन् । पावेलले एभिएमका टेबलटेनिस खेलाडीका लागि उक्त रकम खर्च गर्न लागेको प्रशिक्षक पुरुषोत्तम बज्राचार्यले जानकारी गराए ।

पावेलले हालै साफहाउजर प्राइज फर डेभलपमेन्ट कोपरेसन २०२० पुरस्कार जितेका हुन् । यो पुरस्कार सामाजिक तथा खेलकुदको विकासमा गरेको योगदानको मुल्याङकनको आधारमा प्रदान गरिन्छ । उक्त पुरस्कारबाट प्राप्त हुने २५ हजार स्विस फ्रान्क (३२ लाख नेपाली) नेपालमा टेबलटेनिस खेल विकासका लागि पावेलले खर्च गर्न लागेका हुन् ।

पावेलको यो एभिएम स्कुलका खेलाडीहरुका लागि चौथो पटकको सहयोग हो । पावेलको सहयोगले एभिएमका स्कुलका खेलाडीहरुको स्तरोन्नतीमा निकैनै ठुलो मद्धत मिलेको प्रशिक्षक बज्राचार्यले बताए । यो रकम एभिएममा टेबलटेनिस हल निर्माणमा खर्च गर्नका लागि प्रदान गर्न लागिएको हो ।

प्राप्त रकम हलमा सुविधा युक्त चेन्जिङ्ग रुम, ट्वाईलेट, जिमहल, ईन्जुरी रिकभरीका लागि फिटनेश ट्रेनर राख्ने, हलभित्र प्रोफेसनल लाईटिङ्ग सिस्टम, फल्स सिलिङ्ग, कपबोर्ड तथा बाहिर प्रशिक्षणका लागि ३ वटा टेबलटेनिस बोर्डका लागि खर्च गर्न लागिएको हो । जसका लागि सम्पूर्ण डिजाईनहरु तयार भईसकेको र अर्को हप्ता देखि काम सुरु हुने प्रशिक्षक बज्राचार्यले बताए । यस सहयोगले एभिएमका खेलाडी मात्र नभई भविष्यमा प्रतिभावान खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने प्रशिक्षक बज्राचार्यको बिश्वास रहेको छ ।

जति धेरै सुविधा खेलाडीहरुले प्राप्त गर्नेछन् त्यतीनै सफलता पाउने पावेलको भनाई रहेको छ । भविष्यमा पनि नेपाली राष्ट्रिय प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गरि स्तर बृद्धि गर्ने र नेपालमा टेबलटेनिस खेलको विकास गर्ने उनको सोच रहेको छ । राष्ट्रिय खेलाडीहरुले पनि नपाएको सुविधाहरु पाउने भएबाट एभिएमका खेलाडी विद्यार्थीहरु निकैनै हर्षित तथा उत्साहित भएका छन् ।

जुन नेपाल मा टेबलटेनिस बिकासका लागि निकैनै ठुलो कुरा भएको प्रशिक्षक बज्राचार्यले बताए ।यसअघी पनि पावेलले एभिएमका टेबलटेनिस खेलाडीहरुको लागि सहयोग गर्दै आईरहेको प्रशिक्षक बज्राचार्यले बताए । श्रीलङ्काको भ्रमणका क्रममा पावेलको बारेमा जानकारी प्राप्त भयो त्यस पछि सामाजिक संजाल मार्फत सम्पर्क गरि स्कुलका बच्चाहरुलाई प्रशिक्षण दिन अनुरोध गर्दा उहाँले त्यसलाई स्विकार्दै २०१७ मा नेपाल आगमन गरेको र स्कुलका खेलाडी बिद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरको थिए – प्रशिक्षक बज्राचार्यले बताए ।

बज्राचार्यका अनुसार प्रशिक्षणका क्रममा स्कुलका खेलाडीहरुले खाल्टाखुल्टी भएको भुईमा साधारण प्लाईउडको टेवलमा ईट्टाको नेट बनाएर खेलेको देखेर सहयोग गर्ने ईच्छा जागी स्वदेश फर्के पश्चात १ लाख बराबरको नेट, बल र ¥याकेटको रवर पठाई दिएका थिए । यस्तै पावेलले २०१८ मा ३ हजार डलर बराबरको ४ वटा प्रोफेसनल बोर्ड, बल र रवर प्रदान गरे ।

२०१९ मा ३ हजार डलर बराबरको अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रयोग हुने म्याट प्रदान गरेको बज्राचार्यले जानकारी गराए ।
पावेलले नेपाल भ्रमणका समयमा राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुलाई प्रशिक्षण प्रदान गर्दै आईरहेका छन् । यस पटक पनि नेपालको भ्रमण गर्ने कार्यक्रम रहेकोमा विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ कारण उनको नेपाल भ्रमण स्थगित भएको प्रशिक्षक बज्राचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्