बुटवलमा ३ वर्षमा ६५० जनालाई लालपुर्जा



यमलाल भुसाल, बुटवल ।

बुटवल उपमहानगरपालिकाले विभिन्न वडामा गरि ६ सय ५० लालपुर्जा वितरण गरेकोे छ । वर्षौंअघि नापजाँच भएर त्यत्तिकै रोकिएका साविकका मोतिपुर र सेमलारका गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो । बुटवलका वडा नंं. १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन अवस्थामा रहेका ६ सय ५० घर परिवारलाई उपमहानगरपालिका गोश्वारा नापी कार्यालयको सहकार्यमा लालपुर्जा वितरण गरेको हो ।

बुधबार बुटवल वडा नं. १४ को बेलभरिया र वडा नं. १८ को मोतिपुर दुबौलीमा मात्रै करिब १ सय ५० घर परिवारलाई लालपुर्जा वितरण गरिएको छ । यसअघि बुटवलकै वडा नं. १५ मा ४८ परिवार, वडा नं. १६ मा ६३ परिवार, वडा नं. १७ मा ९० तथा वडा नं. १८ मा १४७ परिवारलाई पुर्जा वितरण गरिसकिएको छ ।

बुटवल–१४ को सेमलार बेलभरिया र मोतिपुरको दुबैलीमा बुधबार एक संक्षिप्त समारोहका बीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले त्यस क्षेत्रका ५८ जना घरपरिवारलाई लालपुर्जा वितरण गर्नुभयो । उक्त वडामा यसअघि एक सय ५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिसकिएको छ । बुटवल १८ को दुबौलीमा बुधबारै ८७ वटा लालपुर्जा वितरण गरिएको थियो ।

लालपुर्जा पाउनेमध्येका सबैभन्दा ज्येष्ठ सदस्य बुटवल–१४ का ८० वर्षीय रामप्रसाद उपाध्याय र ७४ वर्षीय प्रभु थारु, वडा नं. १८ का ७५ वर्षीय चित्रकुट थारु र असिया थारुलाई लालपुर्जा हस्तान्तरण गर्दै उपमहानगरपालिकाका प्रमुख सुवेदीले मोतिपुर र सेमलार क्षेत्रलाई नयाँ बुटवलका नमुना बस्तीका रुपमा विकास गर्नेगरि योजना बनिरहेको बताउनुभयो ।

सो क्रममा उपप्रमुख गुमादेवी आचार्य, नगर प्रवक्ता रामप्रसाद रेग्मी, वडाअध्यक्षहरु १४ का दधिराम न्यौपाने, १८ का हुमनाथ आचार्य र गोश्वारा नापी कार्यालयका टोलीप्रमुख यमप्रसाद पाण्डेसहित त्यहाँका जनप्रतिनिधि र अगुवाहरुको सहभागितामा स्वास्थ्य सुरक्षाको मापदण्डसहित लालपुर्जा वितरण गरिएको थियो ।

२०२७ सालदेखि कैयन पटक नापजाँच भएर पनि जग्गाको स्वामित्व पाउन नसकेका बुटवलका विभिन्न वडाका बासिन्दालाई जनप्रतिनिधि निर्वाचित भएसंगै नापी कार्यालयको समन्वय र सहकार्यमा लालपुर्जा वितरण गरिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्