पोखरा फुटबल मैदानको बजेट अन्योलमा



विजय नेपाली, पोखरा

पोखरा रंगशाला परिसरमा निमार्णाधीन अवस्थामा रहेको फुटबल मैदानको ३ हजार ५ सय प्याराफिटको योजनाको बजेट अन्योलमा परेको छ ।

पहिलो चरणमा १६ हजार ५ सय दर्शक क्षमतासहितको मैदान बनाउने सम्झौताअनुसार काम सुरु गरियो । तर, पछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ३ हजार ५ सय सिट क्षमता बढाएर २० हजार सिट पु¥याउने योजना अघि सा¥यो ।

पहिलो चरणको काम करिब ९० प्रतिशत सम्पन्न भइसकेको छ । १ अर्ब २८ करोड रुपियाँमा १६ हजार ५ सय दर्शक क्षमताको प्याराफिटसहितको मैदान निर्माण गरे पनि पोखरामा फुटबल लोकप्रिय रहेकाले त्यसको सिट संख्या बढाउने योजना बनाएको हो ।

कोरोना भाइरसको कारण देखाउँदै राखेपले बजेट हाल्ने वा नहाल्ने भन्ने अन्योल रहेको निमार्णाधीन रंगशालाका साइट इन्जिनियर मविन आचार्यले जानकारी दिए । ‘हामीले पहिलाको सम्झौताअनुसारको ९० प्रतिशत काम सम्पन्न गरेका छौं । तर, ३ हजार ५ सय सिट जडानका लागि आउने बजेट भने अन्योलमा परेको छ।’ –आचार्यले भने ।

१६ हजार ५ सय दर्शक क्षमताको डीपीआर बनाई काम सम्पन्न हुन लाग्दा थप ३ हजार ५ सय सिट जडान गर्ने बताएपछि निर्माण कम्पनीले मास्टर प्लानअनुसार डिजाइनसमेत तयार पारेको थियो । थप सिट जडानको काम अन्योलमा परे पनि हाल ९ सय सिट जडानका लागि भने भुइँ ढलान भइसकेको आचार्यले बताए ।

‘बजेट आउने हो कि होइन केही थाहा छैन सोही कामका लागि इन्जिनियर काठमाडौं जानुभएको छ’, उनले भने– ‘कि हुन्छ भने हुने, कि हुन्न । बाँकी कामसमेत रोकिएको छ।’ हाल रंगशालाको सुविधासम्पन्न भवन निमार्णको काम अघि बढिरहेको छ । उक्त भवनमा प्लेयर चेन्जिङ रुम, मिडिया सेन्टर, अफिसियल रुम, प्राविधिक रुमलगायत रहनेछ ।

यस्तै, ग्रान्ड स्ट्न्ड क्ल्याडिङ (छोप्ने काम)को काम शुरु गरिएको इन्जिनियर आचार्यले जानकारी दिए । सुविधा सम्पन्न भवनको जिम्मा भारतीय कम्पनीलाई दिइएको हो । कोरोना भाइरसको कारणले कम्पनीका कामदार तथा इन्जिनियर आउन तयार भएर पनि रोकिएका उनले बताए । प्रविधिको काम भएकाले भारतीय कम्पनीलाई बनाउने जिम्मा दिएको उनले बताए ।

यसअघि राखेप सदस्य सचिव रमेश सिलवालले २० हजार दर्शक क्षमताका लागि बजेट आइहाल्ने बताएका थिए । तर, बजेटको यकिन नहुँदा बनाउने वा नबनाउने भन्ने दोधार देखिएको छ । २० हजार दर्शक क्षमताको बनाउँदा १ अर्ब ५० करोड रुपियाँसम्म भेट्ने अनुमान गरिएको छ । भारतीय गे्रट स्पोटर्स इनफ्रा तथा एमए कन्ट्रक्सन ललितपुरले संयुक्तरूपमा फुटबल मैदान बनाउने सम्झौता गरेको थियो ।

२०७५ साल फागुन २६ गते फुटबल मैदान नयाँ संरचना निमार्णको शिलान्यास गरिएको थियो । मैदान पूर्णरूपमा सम्पन्न नहुँदै २०७६ सालमा भएको साग गेमअन्तर्गत महिला फुटबल प्रतियोगितासमेत आयोजना गरिएको थियो । काम समयमा सम्पन्न नहुँदा ४ पटकसम्म म्याद थप गरी काम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्