कमेडियन च्याम्पियनपछि डान्स मास्टर लिल



डान्सिङ रियालिटी शो डान्स मास्टर लिल चाम्स शुरु हुने भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो।

थ्री प्रोडक्सनले नेपा प्रोडक्सनसँगको सहकार्यमा निर्माण गर्न लागेको रियालिटी शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन्।

जो सफल रियालिटी शो कमेडी च्याम्पियनका निर्देशकसमेत हुन्। यस शोमा केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भीरमान सिंहलगायत निर्माता रहेका छन्।

१३ वर्षभन्दा कम उमेरका बालबालिकाले सहभागिता जनाउन पाउने यस शोको सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहेने छिन्।

जजका रूपमा भने डान्स इन्डिया डान्स–लिल चाम्सकी विजेता तेरियमा मगर, डान्स प्लस सिजन–२ का प्रतियोगी सुशान्त खत्री तथा बुगी विगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहनेछिन्।

शोमा होस्टका रूपमा विभिन्न रियालिटी शो होस्ट गरिसकेकी रीमा विश्वकर्मा र कमेडी च्याम्पियनबाट चर्चामा आएका सुमन कोइराला पक्का भएका छन्। रीमा र सुमन दुवै एकसाथ होस्ट गर्न निकै आतुर रहेको बताउँछन्।

निर्देशक भण्डारीले राम्रो नृत्य गर्न सक्ने नेपालका बालबालिकालाई अवसर दिने सोचले शो शुरु गर्न लागिएको बताए। ‘राम्रो नृत्य गर्ने बालबालिकाले प्ल्याटफर्मका लागि विभिन्न देश पुग्नुपर्ने हुन्थ्यो। तर, अब नेपालकै प्ल्याटफर्मबाट अर्को प्रतिभावान तेरिया मगर जन्मिनेछन् भन्ने कुरामा हामी आशावादी छौं।’ –भण्डारीले कार्यक्रममा भने।

निर्माता केकी अधिकारी पहिलो रियालिटी शोबाट पाएको सफलता र हौसलाले नै दोस्रो अर्गानिक रियालिटी शो शुरु गर्ने हिम्मत जुटेको बताइन्। ‘कमेडी च्याम्पियनबाट हामीले जुन साथ र सफलता पाएका छौं, यस शोबाट पनि उत्तिकै साथ र सहयोग पाउनेमा हामी विश्वस्त छौं।’ –केकीले भनिन्।

रियालिटी शोमा विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन्। त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः १५ र १० लाख नगद पुरस्कार पाउनेछन्। निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आप्mनो करियोग्राफरसँग ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्