विश्वकै पहिलो कोरोनाको खोप बेलायती हजुरआमालाई



लन्डन, (एजेन्सी)

सामूहिकरूपमा कोभिड १९ विरुद्ध खोेप दिने कार्यक्रमअन्तर्गत विश्वमै पहिलोपटक फाइजर कम्पनीद्वारा उत्पादित खोप लिने भाग्यमानीमा बेलायती एक वृद्धा भएकी छिन् ।

आगामी साता ९१ वर्ष पुग्ने हजुरआमा मार्गरेट किनानका लागि यो खोप जीवनभरिकै जन्मदिनको उत्कृष्ट उपहार सावित भएको छ ।

फाइजर बायो एन टेकले उत्पादन गरेको पहिलो आठ लाख डोजमध्ये पहिलो डोज उनलाई स्थानीय समयअनुसार बिहान ११ बजेर १६ मिनेट जाँदा लगाइएको थियो ।

बाँकी खोप आगामी साताहरूमा वितरण गरिने योजना बेलायतको स्वास्थ्य मन्त्रालयको रहेको छ । यसै महिनाको उत्तरार्धसम्ममा अन्य ४० लाख डोज खोप वितरण गर्ने पनि सो मन्त्रालयको लक्ष्य रहेको छ ।

बेलायतको हब्सले ८० वर्षभन्दा माथिका निकै जोखिम उठाइरहेका व्यक्तिहरूलाई तिनीहरूको प्राणरक्षाको हेतुले खोपका लागि सबैभन्दा पहिलो प्राथमिकता दिएको हो ।

मंगलबारको दिनलाई बेलायतको विजय दिवसको संज्ञा दिँदै स्वास्थ्यमन्त्री म्याट ह्यान्कोकले यसरी खोपको शुरुआत गर्न पाएकोमा खुसी व्यक्त गर्दै जनतालाई आगामी केही महिनासम्म पनि कोरोना भाइरस रोकथामका नियमहरू गम्भीररूपमा पालना गर्न सल्लाह दिएका छन् ।

अस्पतालमा पहिलो चोटि कोरोनाविरुद्धका खोप लिन लागेका मानिसहरूलाई भेट्न प्रधानमन्त्री बोरिस जोहन्सन अस्पतालमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्