कोरोनाका कारण एक अर्ब आवादी गरिबीतर्फ धकेलिँदै



न्युयोर्क, (एजेन्सी)
संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)को एक नयाँ अध्ययनले कोभिड–१९ महामारीको गम्भीर तथा दीर्घकालीन परिणाम आउने क्रममा सन् २०३० सम्ममा २० करोड ७० लाख थप आवादी भयानक गरिबीमा धकेलिन सक्ने देखाएको छ ।

अध्ययनमा कोभिड १९ बाट बच्न अपनाइएका विभिन्न उपायका कारण समग्र विकास लक्ष्यमा पर्ने असर र महामारीका कारण आगामी दशकमा पर्ने बहुआयामिक प्रभावको आकलन गरिएको छ ।

यो अध्ययन यूएनडीपी र डेनवर विश्वविद्यालयमा पारडी सेन्टर फर इन्टरनेसनल फ्युचर्सबीच लामो समयदेखि रहेको साझेदारीको हिस्सा हो । अध्ययनअनुसार कोभिड–१९ महामारीको गम्भीर दीर्घकालीन परिणामका कारण यो दशकको अन्त्यसम्ममा २० करोड ७० लाख थप मानिस अत्यन्त गरिबीतर्फ धकेलिन सक्नेछन् ।

यसले विश्वमा अत्यन्त गरिबको संख्या बढेर एक अर्ब नाघ्नेछ । वर्तमान मृत्युदर र अन्तर्राष्ट्रिय मुद्रा कोषको हालैको वृद्धिदर अनुमानका आधारमा बेसलाइन कोभिडका आधारमा महामारीपहिले विश्व जुन विकास पथमा थियो, त्यसको तुलनामा ४ करोड ३० लाख थप आवादी सन् २०३० सम्ममा भयानक गरिबीको चपेटामा आउनेछन् । यो बेला विश्वका नेताहरू जुन विकल्प चयन गर्छ, त्यसले विश्वलाई फरक–फरक धारमा लान सक्ने यूएनडीपीका प्रशासक अचिम स्टिनरले बताए ।

गतवर्षको अन्त्यतिरबाट शुरु भएको कोरोना महामारीका कारण विश्वका प्रायः देशको अर्थतन्त्र धराशयी भएको छ । धेरैजसो देशको आर्थिक वृद्धि ऋणात्मकमा गएको छ भने व्यापार तथा उत्पादन संरचनामा गम्भीर असर पारेको छ । यसले बेरोजगारी चरम सीमा पुगेको छ भने पुनः रोजगारीको वातावरण बन्न कठिन परिस्थितिको सामना गर्नुपरिरहेको छ ।

विकसित देशहरूले देशको आर्थिक स्थितिलाई थप बिग्रन नदिन एकपछि अर्को ठूल्ठूला राशीको आर्थिक राहत प्याकेज ल्याइरहेका छन् । तर, गरिब तथा विकासशील देश आर्थिकरूपमा धराशयी हुने स्थितिमा पुगेका छन् । उत्पादन तथा व्यापारमा आएको चरम ह्रासले ती देशको राजस्वलाई धेरै ठूलो असर पारेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्