अब मोबाइल एप्सबाटै पढ्न सकिने



नेपाल समाचारपत्र, काठमाडौं

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक विद्यार्थीलाई लक्षित गरी ई–क्लास नेपाल मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । विद्यालय तहका विद्यार्थी तथा शिक्षकलाई तत्काल सेवा उपलब्ध गराउने उद्देश्यले सो एप्स सञ्चालनमा ल्याएको हो । एप्सको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्नुभएको थियो ।

यस एप्समा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विकास गरी टेलिभिजनबाट प्रसारण गरिएका सबै पाठहरूमा रहेका पाठ्यपुस्तकहरूलाई अझ सरल ढंगबाट अध्ययन गर्न मिल्ने तथा शिक्षकहरूका लागि समेत उपयोगी हुने गरी विषयगत÷कक्षागत शिक्षक निर्देशिका र पाठ्यक्रमहरू समावेश गरिएको केन्द्रका महानिर्देशक वैकृष्ठ अर्यालले बताउनुभयो ।

सामान्य मोबाइलमा कम गतिको इन्टरनेट सेवा भएका स्थानबाट पनि सजिलै अध्ययन गर्न र हेर्न मिल्ने गरी यी सामग्रीहरू राखिएको जानकारीसहित विगतमा निश्चित समय तालिकाअनुसार प्रसारण गरिएका पाठहरूलाई आफ्नो अनुकूल समयमा विद्यार्थीको सिकाइको गति अनुरुप हेर्न र अध्ययन गर्न सकिने भएकोले यो एप्स विद्यालय शिक्षा कक्षा १० सम्मका विद्यार्थीहरूका लागि निकै उपयोगी हुने उहाँको भनाइ छ ।

ई–क्लास नेपाल नामको यो मोबाइल एप्स प्रयोग गर्दा विद्यार्थीहरूले आफ्नो सामान्य विवरण र मोबाइल नम्बरसहित विद्यार्थीको क्षेत्रबाट र शिक्षकले शिक्षकको क्षेत्रबाट प्रवेश गरी रजिस्टर गर्नुपर्ने व्यवस्था छ ।

एप्समा आफ्नो कक्षाको विषयगतरूपमा राखिएका ट्युटोरियल क्लासअन्तर्गत पाठअनुसारका श्रव्यदृश्य पाठहरू हेर्न सकिनेछ ।

एप्समा रहेका पाठ्यपुस्तकहरूमा आफ्नो आवश्यकताअनुसारको पेजहरूमा गई अध्ययन गर्न सकिनेछ । यसको अलावा शिक्षकहरूले शिक्षक निर्देशिका र विषयगत पाठ्यक्रमहरूको पनि आफ्नो आवश्यकतानुसार हेर्न र अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको महानिर्देशक अर्यालको भनाइ छ ।

एप्सलाई अन्तरक्रियात्मक बनाउने उद्देश्यले विद्यार्थी मूल्यांकनका लागि पाठअनुसारका प्रश्नहरू, नमुना प्रश्नपत्रहरू, सिर्जनशीलता प्रस्फुटन हुने खालका सामग्रीसमेत समावेश गरी क्रमशः अद्यावधिक गर्दै लगिने उल्लेख गरीएको छ ।

कक्षा १ देखि १० सम्मका अनिवार्य विषय समावेश गरिएको एप्स एन्ड्रोइड मोबाइल तथा साधारण मोबाइलबाट शिक्षक तथा विद्यार्थीले प्रयोग गर्न सक्ने गरी तयार गरिएको छ ।

सो एप्सको उद्घाटनपछि सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक सत्रलाई क्षति हुन नदिनका लागि कक्षा १२ को परीक्षा सम्पन्न गरिएको र उच्च शिक्षाका लागि पनि विकल्पको खोजीका लागि छलफललाई अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बदलिँदो समयमा सूचना प्रविधिलाई अधिकतम प्रयोग गर्न यो एप्स प्रयोगमा ल्याएका हौं ।’

प्रतिक्रिया दिनुहोस्