गणतन्त्रको रक्षा गर्न एक भएर लाग्ने निर्णय



नेपाल समाचारपत्र, काठमाडौं ।

राजतन्त्रको पक्षमा देशका विभिन्न ठाउँमा जुलुस निस्किने क्रम बढेपछि सरकारले आयोजना गरेको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकताबद्ध लाग्ने निष्कर्ष निकालेका छन् ।राजावादीहरुले दैनिकरुपमा मुख्य शहरमा जुलुस निकाल्ने क्रमसँगै सरकारको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको हो ।मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले ओलीले जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गर्नु भएको थियो ।

संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रि«य दलहरुको सर्वदलीय बैठकले पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधान विरोधी र हिंसात्मक गतिविधि सह्य नहुने निष्कर्ष निकालेको छ ।

सर्वदलीय बैठकमा कोरोनाविरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधान विरोधी गतिविधिलगायतका विषयमा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुसँग छलफल गर्नुभएको थियो । कोरोना रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएको कामका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सरकारले सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको बताउनुभयो । करिब ३ घण्टा गरिएको छलफलमा कोभिड १९ महामारीबीच सरकारले जनताको जीवन रक्षाका लागि काम गरिरहेको उहाँले जानकारी गराउनुभयो ।

बैठकमा सहभागी नेताहरुले प्रधानमन्त्री ओलीलाई संविधानबाट प्राप्त उपलब्धिको रक्षाका लागि देश, जनता, विकास र स्थिरताका पक्षमा राख्नुभएको अडानबाट बिचलित नहुन आग्रह गर्दै जस्तो सुकै सहयोगका लागि पनि सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।सर्वदलीय बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको आरोप लगाएको छ । कांग्रेस नेताहरुले भने अहिलेको सडकमा देखिएको असन्तुष्टि वर्तमान सरकारप्रति असन्तुष्टि भएको टिप्पणी गरेका थिए ।

बैठकमा कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले गलत काम गरेको हुनाले विभिन्नरुपमा असन्तुष्टि प्रकट भइरहेको दाबी गर्नुभयो । ‘लोकतन्त्रको खराबी होइन, सरकार सञ्चालन गर्नेहरुको खराबीका कारण हो । सरकार सच्चियो, लोकतान्त्रिक पद्धतिको मर्मअनुसार चल्यो भने कुनै पनि प्रवृत्ति सफल हुन सक्दैन।’ –उहाँले भन्नुभयो ।

बैठकमा कांग्रेस नेताहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको आरोप लगाउँदै तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडको विरोध गर्नुका साथै संसद्को बैठक तत्काल बोलाउनसमेत माग गरेका छन् ।सत्तारूढ दल नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री ओलीले बोलाउनुभएको सर्वदलीय बैठकमा अध्यक्ष प्रचण्ड पनि सहभागी हुनुभएको छ । विवादका कारण अध्यक्षद्वयबीच संवाद टुटिरहेको बेला प्रचण्ड सर्वदलीय बैठकमा सहभागी हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्