बीस बर्ष सेवा पुगेका शिक्षकलाई प्रोत्सान भत्ता दिएर बिदाई गर्ने गाउँपालिकाको निर्णय



न्युज अफ नेपाल, पर्वत ।

धेरै बिद्यालयहरुमा उमेर हद र सेवा अवधी पुरा भएपनि शिक्षणमा रहेका बेला पर्वतको पैयुँ गाउँपालिकाले उमेर हद र सेवा अवधि पुरा गरेका शिक्षकहरुलाई प्रोत्साहन भत्ता दिएर बिदाई गर्ने कार्यक्रम ल्याएको छ । गाउँपालिका भित्रका सामूदायिक विद्यालयमा स्थायी जागिरमा रहेर २० वर्ष सेवा अवधि पुरा गरेका, निवृतिभरणका लागि योग्य भएका शिक्षकहरुलाई एक लाख रुपैयाँ प्रोत्साहन भत्ता दिएर बिदाई गर्ने निर्णय गरेको हो ।

पढनपाठनमा सुधार ल्याउने उद्देश्यले गाउँ कार्यपालिकाको मंसिर १९ र २० गते बसेको बैठकले उक्त निर्णय गरेको प्रमुख प्रसाशकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो । उमेर हद र सेवा अवधी पुगेका शिक्षकहरुलाई १५ दिन भित्र गाउँपालिकामा निबेदन दिन अनुरोध गरिएको छ ।

लामो समय अवधिसम्म सेवा गरेका शिक्षकहरुलाई सम्मान सहित बिदाई गर्न यस्तो रणनीति ल्याइएको पौडेलले बताउनुभयो । शिक्षकहरुलाई उमेरको हदले ६० वर्ष सेवा गर्न पाउने व्यवस्था छ । शिक्षकहरुले उमेर हद पुगेपनि जागिर नछाड्ने र नियमित नपढाउने गुनासो समेत छ । एकातिर शिक्षकले जागिर नछोड्दा नयाँ दरबन्दी सृजना गर्न समस्या हुँदै आएको छ ।

नयाँ शिक्षक भर्ना गर्न दरबन्दी खाली हुनुपर्छ । गाउँपालिका भित्रका सबै विद्यालयमा उक्त सूचना पठाईएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत पौडेलले प्रोत्साहन सहित अवकाशमा जान चाहने शिक्षकहरु सम्पर्कमा आउन थालेको बताउनुभयो ।

कतिजना शिक्षकहरु उमेर हद र सेवा अवधि समाप्त भएर पनि जागिरमै रहेको भन्ने यकिन तथ्यांक निकाल्न थालिएको छ । गाउँ कार्यापालिकाको दुई दिन सम्म बसेको बैठकले २७ वटा निर्णय गरेको छ । पहिलो निर्णयमा शिक्षकहरुको बिदाई लाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्