टोटनह्यामद्वारा आर्सनल पराजित



लन्डन, (एजेन्सी)

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामद्वारा आर्सनल पराजित भएको छ । आइतबार राति भएको खेलमा टोटनह्यामले आफ्नो घरेलु मैदानमा आर्सनलमाथि २–० गोलअन्तरको जित निकालेको हो । टोटेनह्याम हट्स्पर स्टेडियममा घरेलु टोलीलाई जिताउनेक्रममा स्टार फरवार्डद्वय सन हेङ मिन र ह्यारी केनले समान एक–एक गोल गरे । उनीहरू दुवैले गोल गर्दा एकअर्काका लागि असिस्टसमेत प्रदान गरेका थिए ।

खेलको १३औं मिनेटमा दक्षिण कोरियाली खेलाडी सनले शानदार गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । केनले मैदानको मध्यभागबाट दिएको लामो पास दौडाएर लगेर सनले डीबक्स बाहिरबाट बार च्यापेर हानेको कडा प्रहारले दर्शनीय ढंगले जाली चुमेको थियो ।

त्यसपछि पहिलो हाफको थप समयमा सनको पासमा केनले अर्को गोल थपे । उनले डीबक्स भित्रबाट हानेको कडा प्रहार बारमा लाग्दै पोस्टमा छिरेको थियो । पहिलो हाफमा टोटनह्यामले २–० को अग्रता बनाएकोमा दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न नसक्दा खेल टोटनह्यामले २–० ले जित्यो । यो जितपछि टोटनह्यामले ११ खेलबाट २४ अंक बनाएको छ । पराजित आर्सेनलको भने समान खेलबाट मात्रै १३ अंक रहेको छ ।

प्रिमियर लिगअन्तर्गत नै भएको अर्को खेलमा लेस्टर सिटीले संघर्षपूर्ण जित हासिल ग¥यो । निर्धारित ९०औं मिनेटमा स्टार खेलाडी जेमी भर्डीले निर्णायक गोल गरेपछि प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले जित निकालेको हो । आइतबार राति भएको खेलमा लेस्टरले लिगको २०औं स्थानको सेफिल्ड युनाइटेडलाई उसैको घरेलु मैदानमा २–१ गोलले स्तब्ध बनायो ।

पाहुना टोली लेस्टरले खेलको २४औं मिनेटमा सेफिल्डविरुद्ध सुरुआती अग्रता लिएको थियो । सो गोल अयोजे पेरेजले गरेका थिए । तर, लेस्टरको अग्रता धेरैबेर टिकेन । गोल गरेको दुई मिनेटमै सेफिल्डका ओली म्याकब्रुरुनेले गोल गरेर खेल एक–एक को बराबरीमा ल्याए । त्यसपछि खेल बराबरी नजिक पुगेका बेला लेस्टरका भर्डीले खेलको ९०औं मिनेटमा टिमका लागि विजयी गोल गरे । म्याडिसनको पासमा उनले वान भर्सेस वानको अवस्थामा सेफिल्डका गोलकिपरलाई बिट गर्दै विजयी गोल गरे ।

त्यस्तै, अर्को खेलमा यो सिजन कमजोर सुरुआत गरेको डिफेन्डिंग च्याम्पियन लिभरपुलले सानदार जित हासिल ग¥यो । आइतबार राति आफ्नो घरेलु मैदानमा उल्भ्सलाई ४–० को फराकिलो अन्तरमा हराउँदै लिभरपुल उपाधि होडमा अघि बढेको हो । एनफिल्ड स्टेडियममा भएको खेलमा लिभरपुलले एक आत्मघाती गोल उपहारमा पाएको थियो । घरेलु टोलीका लागि खेलको २४औं मिनेटमा मोहमद सलाहले गोलको खाता खोलेका थिए ।

त्यसपछि ५८औं मिनेटमा जर्जिनो विज्नाल्डुमले गोल गरेर लिभरपुललाई जितको बाटो देखाएका थिए । त्यसपछि खेलको ६७औं मिनेटमा लिभरपुलका लागि तेस्रो गोल जोएल म्याटिपले गरे । त्यस्तै, ७८औं मिनेटमा उल्भ्सका डिफेन्डर नेल्सन सेमेडोले आत्मघाती गोल गरेपछि खेल लिभरपुलले ४–० ले जित्यो । यो जितपछि लिभरपुलको ११ खेलपछि २४ अंक भएको छ । यता, पराजित उल्भसको भने समान खेलबाट १७ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्