सिकागोमा नेपाली खेलाडीलाई सफलता



काठमाडौं, (नेस)

सिकागो ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका चार तेक्वान्दो खेलाडीले पदक जितेका छन् ।
ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा  सम्पन्न अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका सन्दीपा अमगाईं, सञ्जीव नेपाली, राजु नगरकोटी र प्रेमकुमार दर्नालले पुम्सेतर्पm विभिन्न उमेर समूहमा पदक जितेका हुन् ।

सन्दीपा र सञ्जीवले दुई पदक जित्दा राजु र प्रेमकुमारले १÷१ पदक जितेका थिए । सन्दीपाले महिला ३० वर्षमुनि र सञ्जीवले ३१ वर्षदेखि ४० वर्ष उमेरसमूहको स्पोर्टस् पुम्से र ट्रेडिसनल (परम्परागत) पुम्सेमा पदक जितेका थिए ।

सन्दीपाले ट्रेडिसनल पुम्सेमा अमेरिकाकी डिना पाजाजेटसँग पराजित भएर रजत पदक जितेकी थिइन् । डिनाले ५.८३३ अंक र सन्दीपाले ५.६६७ अंक प्राप्त गरेका थिए । यसै उमेरसमूूहमा अमेरिकाकी डाई लिन हुमल तेस्रो स्थानमा सीमित भइन् । स्पोर्टस् पुम्सेमा भने सन्दीपा तेस्रो स्थानमा खुम्चिइन् । उक्त विधामा अमेरिकाकी बेट्रिज बेलिसेन पहिलो र फिलिपिन्सकी युनाइस इन्टे दोस्रो भएका थिए ।

यस्तै, सञ्जीवले स्पोर्टस् पुम्से र ट्रेडिसनल पुम्से दुवै विधामा रजत पदक जितेका थिए । उनी स्पोर्टस् पुम्सेमा अमेरिकाका गिलबर्ट जामेनासँग पराजित भएका थिए । ट्रेडिसनल पुम्सेमा भने उनी फिलिपिन्सका क्रिस्टि मघिरासँग पछि पर्दा दोस्रोमा खुम्चिए । मघिराले ५.९० अंक र सञ्जीवले ५.८६ अंक ल्याएका थिए ।

त्यसैगरी, नेपालका राजुुले ५० वर्षमुनि स्पोर्टस् पुम्सेमा रजत पदक जित्दा नेपालकै प्रेमकुमार दर्नाल कांस्य पदकमै सीमित भए । यस विधामा पहिलो भएका अमेरिकन खेलाडी एन्ड्रयु एसिसले ६.१० अंक र राजुले ५.४० अंक ल्याएका थिए । प्रेमकुमारले भने ५.१०० अंक ल्याए । उक्त च्याम्पियनसिपमा आयोजक राष्ट्र अमेरिका र नेपालसहित क्यानडा, फिलिपिन्स र स्लोभाकियाका करिब ४ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्