कोरोनालाई जितेर मृत्युसँग हारे

आशाको दियो बालेर गायक थापा



गीतकार, गायक, संगीतकार, कथाकार तथा लेखक जगतमर्दन थापाको सोमबार निधन भएको छ।
कोरोना भाइरसको संक्रमणका कारण अस्वस्थ भई नर्भिक अस्पतालमा उपचार गराई रहेका थापाले कोरोनालाई जिते पनि फोक्सोको समस्याका कारण उपचारकै क्रममा निधन भएको हो।

उनको छोरीका अनुसार कोरोना संक्रमणबाट मुक्त भइसकेपछि उनलाई सीसीयँमा सारिसकिएको थियो र उनी बोल्ने–खाने गर्न थालिसकेका थिए। तर, अचानक फोक्सोको समस्याका कारण श्वास फेर्न गाह्रो महसुस गरेका उनको उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो। उनी ८४ वर्षको वृद्ध उमेरमा पनि जवान जोशका साथ गीत गायन तथा संगीत कर्मममा सक्रिय थिए।

प्रतिभालाई उमेरले छेक्दैन भन्ने उदाहरण बनेका लोकप्रिय गायक थापाको वृद्ध उमेरमा पनि गायन सक्रियता भने उस्तै जवान थियो। गायक थापाले ८४ वर्षको वृद्ध उमेरमा पनि आफूलाई सांगीतिक जगत्मा सक्रिय राख्ने क्रममा केही अघिसम्म पनि नयाँ एल्बमका लागि गीत रेकर्डिङ गराइरहेका थिए।

वृद्ध उमेरमा पनि आप्नो सुमधर स्वर दिएर विभिन्न गीतकार तथा संगीतकारका शब्द र सांगीतिक सिर्जनालाई अमूल्य तुल्याउँदै आएका गायक थापाले आप्नो छैठौं एल्बमको गीत रेकर्ड गराएका थिए भने अन्य सर्जकका गीतका लागि पनि आप्नो सुमधुर स्वर दिँदै आएका थिए।

२०१८ सालबाट औपचारिकरूपमा गीत रेकर्ड गराउन शुरू गरेका थापाको प्रतिभा गायकका रूपमा मात्र सीमित छैन। २०११ सालदेखि कविता लेखनमा कलमसमेत चलाउँदै आएका उनी गीतकार, गायक, संगीतकार, कथाकार र लेखकका रूपमा पनि उत्तिकै लोकप्रिय थिए। थापा सांगीतिक क्षेत्रमा सिद्धान्तमात्र नभई व्यावहारिक पक्षलाई पनि आत्मसात गर्नुपर्ने मान्यता राख्थे।

‘कोर्ष मात्रै पढेर हुँदैन त्योभन्दा बाहिरको संगीतलाई पनि आत्मसात गर्नुपर्छ। संगीत भनेको तपस्या हो, सरस्वती माताको वरदान हो। गायकले गलालाई सुरमा ल्याउनका लागि नियमित रियाजसमेत गर्नु जरुरी छ।’ –थापाको भन्ने गर्थे।

आप्नो अनुभवमा संगीतकर्मीले शास्त्रीय संगीत सिक्नु जरुरी रहेको उनी बताउने गर्थे। ‘शास्त्रभित्र रहेर गरिएको अध्ययन नै शास्त्रीय हो। शास्त्र नसिकीकन भाषा मात्र पढेर हुँदैन’, उनी भन्ने गर्थे– ‘व्याकरण मिलाएर भाषा पढ्नका लागि शास्त्रीय संगीत आवश्यकता पर्छ। गाउनु मात्रै ठूलो कुरा नभएर शास्त्रीय ज्ञानसहित गाउँदा अन्तर्राष्ट्रियस्तरमा हाम्रो संगीत प्रतिस्पर्धा गर्न सक्ने बन्छ। सोखले गाउनु र नियममा रहेर गाउनु फरक हो। त्यसैले शास्त्रीय संगीतको ज्ञान अनिवार्य छ।’

सप्तरीको ब्रह्मजियामा जन्मिएका थापाले २०११ सालमा एसएलसी पास गरेपछि महाराजगन्जको विश्वबन्धु पुस्तकालयमा जनरल सेक्रेटरीको काम गरेका थिए। त्यस समयमा महिनाको तीन शुक्रबार कविता सम्मेलन र एउटा शुक्रबार गाउने बजाउने सम्मेलन हुन्थ्यो।

त्यहीं उनलाई संगीतको संगतले सुर–तालमा गाउनुपर्छ भन्ने सिकायो र पछि रत्नदास माड्साबसँग सिक्न थाले। २०१३ सालमा रेडियो नेपालमा क्षेत्रीय कार्यक्रममा गीत गाएपछि उनमा संगीतको नशा झन् लाग्यो र स्टेजमा पनि गाउने आँट आयो। त्यो आँटले उनलाई ८४ वर्षको वृद्ध उमेरसम्म पनि सांगीतिक यात्रामा डोहोे¥याइरहेको थियो। त्यसैको नतिजा थियो, थापा हप्तैपिच्छेजसो गीत रेकर्डिङ गराइरहेका हुन्थे।

उनले गाएका आशाको दियो बालेर, भन लौ तिमी नढाँटी, दिलको आवाज, कुहिरोसँग डाँडाकाँडा, म मकिएको धुरी, दैव संजोग जस्ता दर्जनौं गीत आज पनि उत्तिकै लोकप्रिय छन्। संगीतकार तथा गायक शम्भुजित बासकोटाले थापाको निधनले नेपाली संगीतको क्षेत्रमा अपँर्णीय क्षति पुगेको बताए।

प्रतिक्रिया दिनुहोस्