सचिव आचार्यसहित भोजपुरका ५ विशिष्ट व्यक्तित्व सम्मानित



भक्तपुर, (नेस)

दावाँली मिलन क्लब भोजपुरले विभिन्न ५ विशिष्ट व्यक्तिलाई सम्मान गरेको छ । भक्तपुरको नगरकोटमा आयोजित कार्यक्रममा सम्मानित हुनुहुनेमा नेपाल सरकारका सचिव सुरेश आचार्य, बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष उद्धव तिमिल्सिना, माछापुच्छ्रे बैैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, लघुविद्युत् व्यवसायी विक्रम विष्ट र उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउत हुनुहुन्छ ।

सम्मानित व्यक्तिलाई पूर्वअर्थमन्त्री तथा प्रशासक शंकर कोइराला, प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार र क्लबका अध्यक्ष रोशन श्रेष्ठले संयुक्तरुपमा सम्मानपत्र र खादा ओढाई सम्मान गर्नुभयो ।

क्लबमा आबद्ध र भोजपुरमा जन्मिएका तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा नियुक्त भई जिम्मेवारी बहन गर्न लाग्नुभएका व्यक्तित्वलाई सम्मान गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा गीतकारसमेत रहनुभएका पूर्वअर्थमन्त्री कोइराला, प्रतिनिधिसभा सदस्य सुनुवार, प्राडा उपेन्द्र कोइराला, पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल, सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक दुर्जकुमार राई, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, क्लबका सचिव डिल्लीश्वर प्रधानलगायतले दावाँली मिलन क्लब, सम्मानित व्यक्तित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा भोजपुरे प्रतिभाले पारेको प्रभाव र योगदानबारे बोल्नुभएको थियो ।

कार्यक्रममा संगीत नाट्य प्रतिष्ठानका सदस्य सचिव श्याम तमोट, मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की, क्लबका महासचिव सुरेन्द्र श्रेष्ठलगायत भोजपुरको माटोमा मौलाएका विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो ।

सो अवसरमा सम्मानित व्यक्तित्व नेपाल सरकारका सचिव सुरेश आचार्य अर्थात् गीतकार सियरा आचार्यद्वारा रचित सुमधुर गीतहरुको सांगीतिक संग्रह (सीडी) ‘तिम्रो प्रेरणाले’को प्रमोसन गरिएको थियो ।

विभिन्न चर्चित गायक, गायिकाको स्वर र संगीतकारको संगीत समेटिएको सीडीको छिट्टै नै संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराई र संस्कृति पुरुष सत्यमोहन जोशीले संयुक्तरुपमा सार्वजनिक गर्ने तैयारी भइरहेको गीतकार आचार्यले जानाकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्