शेयर कर्जा नीति परिर्वतन नगर्न अर्थमन्त्रीको आग्रह



काठमाडौं, (नेस)

अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको शेयर धितो कर्जाको नीति ‘पुनरावलोकन’प्रति चासो दिनुभएको छ ।
अर्थमन्त्री पौडेलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरी शेयर धितो कर्जाको नीति परिवर्तन र यसले दीर्घकालमा पार्न सक्ने असरलाई ध्यानमा राखेर मात्र नीति पुनरावलोकन गर्न निर्देशन दिनुभएको छ ।

राष्ट्र बैंकले गत बिहीबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो तीन महिनाको समीक्षा गर्दै शेयर धितो कर्जामा कडाइ गर्ने संकेत गरेपछि आइतबार १२३ अंकले नेप्से परिसूचक घटेको थियो ।

अर्थमन्त्री पौडेलले गभर्नर अधिकारीलाई नीति तत्काल परिवर्तन नर्गन आग्रह गरेपछि सोमबार नेप्से ७२ दशमलव २८ अंकले बढेको थियो ।

अर्थमन्त्री पौडेलले सरकारले निजीक्षेत्रलाई हातेमालो गरेर अगाडि बढ्न लागेको अवस्थामा निजीक्षेत्रको हित विपरीत नीति नल्याउन पनि गभर्नर अधिकारीलाई निर्देशन नै दिनुभएको छ ।

अर्थमन्त्री पौडेलले अर्थमन्त्रालयको जिम्मेवारी समालेपछि निजीक्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै आउनुभएको थियो ।

शेयर बजारप्रति पनि अर्थमन्त्री पौडेल पहिलेदेखि नै लचिलोरुपमा प्रस्तुत हुँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्