चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तद्धारा रुपन्देहीको देवदह मेडिकल कलेजमा प्रदर्शन



यमलाल भुसाल,बुटवल ।

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले रुपन्देहीको भलुही स्थित देवदह मेडिकल कलेज घेराउ र प्रदर्शन गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका– १० की ३१ वर्षीया राधा थारुको अप्रेशन गरी बच्चा जन्माएको केही समयमा मृत्यु भएपछि घटनाको छानवीन, दोषीलाई कारबाही र क्षतिपूर्ति माग गर्दै मृतकका आफन्तले प्रदर्शन गरेका हुन् ।

मंसिर १७ गते अस्पताल भर्ना भएकी थारुको शल्यक्रिया गरेर १८ गते बिहान ५ बजे शिशुु जन्माइएको थियो । बच्चा जन्माएको चार घण्टासम्म स्वास्थ्य अवस्था राम्रो रहेको र कुराकानी पनि भएको तर एक्कासी अप्रेशन गरेको ठाउँबाट रक्तश्राव हुन थालेपछि सोही दिन आईसीयूमा राखेर बिहान ११ बजे दोस्रो शल्यक्रिया गरिएको थियो ।

दोस्रो अप्रेशनपछि पनि रक्तश्राव नरोकिएपछि पाठेघर निकाल्न राति पुनः तेस्रो अपरेसन गरिएको मृतककी दिदी फुलमति थारुले जानकारी दिनु भयो ।अपरेसन गरेर जन्माएकी राधालाई १३ पिन्ट (पोका) रगत चढाइएको उहाँले बताउनु भयो । रक्त सञ्चार केन्द्रमा पटक पटक रगत लिन जँंदा यति धेरै रगत त आवश्यक नपर्ने भनेर रक्त सञ्चारका कर्मचारीले आशंका गर्दै बिरामीलाई हेर्न भनेपछि हेर्न जाँदा जिब्रो बाहिर निक्लेको अवस्थामा बहिनीलाई देखेको फुलमतिले बताउनु भयो ।

आफूहरुले सुत्केरीको मृत्यु भएको देखेर स्वास्थ्यकर्मीसँग कुरा गर्दा जीवित रहेको दावी गर्दै मुख बाहिर आएको जिब्रोलाई निप्पलले मुखभित्र धकेलेको उहाँको दाबी छ । मेडिकल कलेजले अपरेसनका क्रममा लापरबाही गरेका कारण सुत्केरीको मृत्यु हुन पुगेको आफन्तको दावी छ ।

लापरबाही नभएको भए तीन दिनसम्म सुत्केरीलाई हेर्न किन दिइएन भन्ने उहाँको प्रश्न छ । सुत्केरीको मृत्यु भएपछि पनि उपचार भइरहेको छ भनेर आफुहरुलाई ढाँटिएको आफन्तहरुको आरोप छ । मेडिकल कलेजले उपचारमा गम्भीर लापरबाही गरेर तीन दिनसम्म सुत्केरीको अवस्थाको यथार्थ जानकारी नदिएको मृतकका श्रीमान् हिरालाल थारुले बताउनु भयो ।

आइतबार दिउँसो मात्रै मेडिकल कलेजले सुत्केरीको मृत्यु भएको घोषणा गरेको थियो । तर त्यसअघि नै शनिबार मृतकका आफन्तसँगको छलफलमा चार लाख रुपैयाँ दिन र उपचार खर्च नलिन तयार भएको हिरालालले जानकारी दिनु भयो । उपचार खर्च नलिने र चार लाख रुपैयाँ दिन्छौं भन्ने कुराले उपचारमा लापरबाही भएको पुष्टि भएको थारुको दाबी छ । सुत्केरीको उपचारमा डा.संजिव योञ्जनको टोली सहभागी भएको मेडिकल कलेजले जनाएको छ । मेडिकल कलेजका मेडिकल सुपेरिटेन्डेन्ट डा. बिक्रम ज्ञवालीले भने उपचारमा लापरबाही नभएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्