हुम्लामा आजदेखि पुनः उडान शुरु



सिमकोट । नेपाल वायुसेवा निगमको हुम्ला उडान आजदेखि पुनः सञ्चालनमा आएको छ । कर्णाली प्रदेशको जुम्ला र रुकुममा नियमित उडान भर्दै आएको सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले हुम्लामा झण्डै एक वर्षपछि आजदेखि उडान गरेको हो । नेपालगञ्जबाट हुम्लाका लागि हप्ताको एकपटक उडान गर्ने भएको हुम्ला स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिनुभयो ।

दुई वर्षमुनिका बालबालिका तथा विद्यार्थीलाई परिचयपत्रका आधारमा टिकटमा २५ प्रतिशत छुटको व्यवस्था रहेको उहाँले बताउनुभयो । यस्तै वृद्धवृद्धालाई पचास प्रतिशत टिकटमा छुटको व्यवस्था रहेको इञ्चार्ज सुनारले बताउनुभयो । अन्य नागरिकका लागि हुम्लाबाट नेपालगञ्जको भाडादर रु ६ हजार ३०० रहेको छ भने नेपालञ्जदेखि हुम्लाका लागि रु सात हजार भाडादर कायम गरेको उहाँले बताउनुभयो ।

नेपालगञ्जदेखि हुम्ला पुग्नका लागि निजी एयरलाइन्सहरुले प्रतिव्यक्ति भाडादर रु दश हजारभन्दा बढी लिने गरेका छन् । नेपाल एयरलाइन्सले हुम्लाका हप्ताको एक, जुम्लामा हप्ताको दुई र रुकुममा एक दिन उडान गर्दै आएको छ । हुम्लामा यात्रुको सङ्ख्या हेरेर उडान तालिका थप्न सकिने भएको छ ।

आजदेखि (नेपाल एयरलाइन्स) ले हुम्लामा उडान गरेपछि यहाँका नागरिकले सहुलियत भाडादरमा जिल्लाबाहिर आवतजावत गर्न पाएकोमा खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्